शनिबार, कार्तिक १०, २०८१

महिलाको हक अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारको प्रयास जारी : मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स सोमवार, फागुन २४, २०७७


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालको संविधानले प्रदत्त गरेको महिलाहरुको हक सुनिश्चित गर्नका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट प्रयास जारी राखेको बताएका छन् ।
१११ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले संविधानप्रदत्त गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्दै सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि प्रदेश सरकारले विशेष प्रयास गरिरहेको बताएका हुन् ।
प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका ‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको कार्यक्रम’, ‘छोरीबुहारी छात्रावृत्ति कार्यक्रम’, ‘मुख्यमन्त्री महिला दलित आयआर्जन कार्यक्रम’ लगायतका कार्यक्रमहरुले महिला र पुरुषबीचको विभेद अन्त्यका गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको उनले बताए ।
जनसंख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसरको उपभोग गर्न पाउने वातावरण तयार गर्नु सबैको दायित्व भएको मुख्यमन्त्र शाहीले बताए ।
समान कामको समान ज्याला र काम गर्ने समय ८ घण्टा कायम गर्नुपर्ने मागसहित महिलाहरुले विद्रोह गरेको दिनको स्मरणमा मनाइदै आएको यो दिवसले सबै किसिमका अन्याय र विभेदका विरुद्ध बोल्न सक्ने प्रेरणा दिने विश्वास उनले व्यक्त गरे ।