मंगलबार, बैशाख १८, २०८१

कर्णाली प्रदेशमा मन्त्रीमण्डल पुनःगठन

  
कर्णाली टाइम्स शनिबार, बैशाख ४, २०७८

सुर्खेत । शनिवार कर्णाली प्रदेशको मन्त्रीमण्डल पुनःगठन गरिएको छ । शुक्रबार संसदबाट विश्वासको मत पाएका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज मन्त्रीमण्डल हेरफेर गरेका हुन् ।
विस्तारित मन्त्रीमण्डलमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।
यसअघि उद्योग मन्त्री रहेका बुढाले चैत २४ गते राजीनामा दिएका थिए । उनीसँगै माओवादी नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सामाजिक किवास मन्त्री दल रावलले पनि राजीनामा दिएका थिए ।
हाल खाली रहेको सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसी र अर्थ मन्त्रालय हाल कायम आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जिम्मामा छ ।
मन्त्रीको जिम्मेवारी पाएका तीनै जनालाई आज मात्रै एमाले कर्णाली प्रदेश कमिटीले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।
तीनैजनाले मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन शुक्रबारको प्रदेश सभा वैठकमा ‘फ्लोर क्रस’ गरेका थिए । फ्लोर क्रस गरेका अर्का सांसद् प्रकाश ज्वालालाई भने कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको प्रदेश कमिटीले जनाएको छ ।
शनिबार गरिएको मन्त्रीमण्डल पुनःगठन पहिलो चरणको भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।