बुधबार, बैशाख १९, २०८१

कोभिडका बिरामी बोक्न ‘अटो एम्बुलेन्स’ सञ्चालन

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ३०, २०७८
तस्विर सौजन्य: मोटेग्याङ्ग नेपाल

सुर्खेत । सामाजिक सञ्जालमा सक्रीय मोटेग्याङ्ग लगायतका विभिन्न समूहहरुले सुर्खेतमा तीनवटा अटोरिक्सालाई एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याएका छन् । आवश्यक अनुसार चौबिसै घण्टा तयारी अवस्थामा रहनेगरी अटोरिक्सालाई एम्बुलेन्स बनाईएको मोटेग्याङ्ग नेपालका एड्मिन कुमार समशेर थापाले बताए ।
कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यो साताको सुरुदेखि यो सेवा सुचारु गरिएको उनले बताए । अटो एम्बुलेन्सले कोभिड संक्रमण भएका बिरामीहरुलाई निशुल्क रुपमा अत्यावश्यक सेवा दिनेछन् भने अन्य अस्पताल जाने बिरामीका आफन्तको भने न्युनतम शुल्क लिने छन् ।
हत्तपत्त एम्बुलेन्स नपाईने अवस्था भएमा सहजताका लागि मोटेग्याङ्ग नेपालले ‘अटोएम्बुलेन्स’ सुरु गरेको उनले बताए । ‘अक्सिजन नै चाहिने बिरामीहरुका मानिसले त एम्बुलेन्सलाई नै सम्पर्क गर्नुहुन्छ, यदि अक्सिजनविनै अस्पताल लैजान मिल्ने बिरामी भएमा अटो एम्बुलेन्स लिन मिल्छ ।’ थापाले भने ।
अटो एम्बुलेन्स सञ्चालन चालकहरुका लागि पिपीई, फेसशिल्ड, मास्क, स्यानिटाईजर, पञ्जा लगायतको सुरक्षा सामग्री दिईएकोछ । यस्तै चालक बस्ने भन्दा पछाडिको भोगलाई प्लाष्टिकले बेरिएको छ । चालकको सुरक्षाका लागि आवश्यक सावधानी अपनाईएको थापाले बताए ।

अटो एम्बुलेन्स सञ्चालनको लागि ‘हेल्लो प्रदेश नेपाल’ फेसबुक पेजले पनि सहकार्य गरिरहेको यसका एड्मिन हज्जु अलिले बताए ।
अहिले ती अटोएम्बुलेन्सहरुले बिरामीहरुलाई अस्पतालसम्म पुर्याउने काम गरिरहेका छन् । अटो एम्बुलेन्सका चालकसँग सम्पर्क गर्न नम्बर पनि दिईएको छ । ९४८१२०००८, ९८२२४५१७८६ र ९८१९५११०२२ मा फोन गरी मोटेग्याङ्गले सञ्चालन गरेको अटोएम्बुलेन्सलाई बोलाउन सकिने छ ।