मंगलबार, बैशाख १८, २०८१

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

  
कर्णाली टाइम्स सोमवार, मंसिर ६, २०७८


सुर्खेत। सुर्खेत विमानस्थल २५ दिनसम्मका लागि बन्द हुने भएको छ। मंसिर १० गतेदेखि पुष ५ गतेसम्म धावनमार्ग मर्मतका लागि उडान तथा अवतरण बन्द गर्न लागिएको हो।
धावनमार्ग मर्मतका लागि मंगलबार ईञ्जिनियरको टोली सुर्खेत आउन लागेको नागरिक उड्यन प्राधिकरण सुर्खेतले जनाएको छ। अहिले गरिने मर्मत नियमित मर्मत कार्यअन्तर्गत भएको प्राधिकरणले जनाएको छ।
सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत प्रभावित हुने भएका छन्।
यस्तै काठमाडौंबाट सुर्खेतका लागि हुने सिँधा हवाई उडान पनि प्रभावित हुने भएको छ। यसका लागि बुद्ध एअरले नेपालगञ्जमा अतिरिक्त उडान गर्न लागेको छ।
काठमाडौं–सुर्खेत बुद्ध एअरको एक मात्र जहाजले उडान भर्दै आएको छ।
धावनमार्ग बन्द हुने भएपछि सुर्खेत आउने यात्रुहरुलाई लक्षित गरेर नेपालगञ्जमा एउटा उडान थप गर्न लागिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले बताए।
जहाज उडान तथा अवतरण नभए पनि सुर्खेत विमानस्थलमा हेलिकप्टर भने नियमित अवतरण गर्न सक्नेछन्।