सुर्खेत। स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरी चौकुने गाउँपालिकाको अध्यक्ष जितेको नेकपा माओवादी केन्द्रले कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको छ। कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी काँग्रेसलाई पराजित गरेको छ।
निर्वाचित हुने कार्यपालिकाका ६ सदस्यमध्ये ४ जना माओवादी र २ जना एमालेबाट निर्वाचित भएका छन्।
एमालेसँग तालमेल गरी माओवादीले आफूले चार र एमालेबाट २ जना सदस्यलाई उम्मेदवार बनाएको थियो। एमालेबाट महिला सदस्यमा कमलादेवी विक र दलित वा अल्पसंख्यक सदस्यमा शंकरबहादुर कामी उम्मेदवार बनेका थिए।
माओवादीबाट महिला सदस्यमा अम्बि विक, पदमा देवी विश्वकर्मा र हजुरा कुमारी विष्ट उम्मेदवार थिईन् भने दलित वा अल्पसंख्यक सदस्यमा उज्जीरे ढोली उम्मेदवार थिए। उनीहरु सबै ३३/३३ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन्।
काँग्रेसबाट दलित वा अल्पसंख्यक सदस्यमा दिपक विक र अम्मरे कामी उम्मेदवार थिए। महिला सदस्यमा अमृता बोहोरा, उज्जादेवी विक, पञ्चकली बुढा र राधिका विक उम्मेदवार थिए। उनीहरुले १९ मत ल्याएका छन्।
यसअघिको स्थानीय तह निर्वाचनमा माओवादी र काँग्रेसबीच गठबन्धन गरी पालिका अध्यक्षमा माओवादीका खड्क विक निर्वाचित भएका थिए भने उपाध्यक्षमा काँग्रेसका नरबहादुर बान्तोला निर्वाचित भएका थिए।
कर्णाली टाइम्स
बुधबार, जेष्ठ १८, २०७९