शुक्रबार, बैशाख २१, २०८१

वार्ता जारी राख्ने, उडान नरोक्ने वायुसेवा सञ्चालक संघको निर्णय

दिउँसो ११ बजेबाट हवाई सेवा सुरु गर्ने सहमति

  
कर्णाली टाइम्स बुधबार, असार ८, २०७९

सुर्खेत। सरकारी निर्णयको विरोध गर्दै सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरुले आज दिउँसो ११ बजेबाट नियमित उडान गर्ने भएका छन्। नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको वार्तामा उडान सञ्चालन गर्ने सहमति भएको हो।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात भएको वार्ताले उडान नरोक्ने निष्कर्ष निकालेको छ।
नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरु राति पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले सम्पूर्ण उडान स्थगनको घोषणा गरेको थियो।
प्राधिकरणले हेलिकप्टर कम्पनीलाई असार ७ गतेदेखि र हवाईजहाज कम्पनीलाई १३ गतेबाट तोकिएको विमानस्थलमा मात्र राति पार्किङ गर्न निर्देशन दिएको थियो। त्रिभुवन विमानस्थलको ‘उडान सुरक्षा सुदृढीकरण’ को कारण देखाउँदै यस्तो निर्णय गरिएको हो।