शुक्रबार, बैशाख २१, २०८१

यो गठबन्धन दलको रहर र रातारात चुनाव जित्ने उद्देश्यले भएको होईनः काँग्रेस उपसभापति खड्का

  
कर्णाली टाइम्स बिहीबार, मंसिर १, २०७९


सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिलेको गठबन्धन संविधानको रक्षा र प्रतिगमनको अन्त्यका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उपसभापति खड्काले एमालेको प्रतिगमन, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि दलहरुबीच गठबन्धन गरिएको बताए।
‘यो गठबन्धन कुनै दलहरुको रहरले बनेको होईन, रातारात चुनाव जित्न पनि यो गठबन्धन बनेको होईन,’ उनले भने, ‘अलोकतान्त्रिक कदम, एमालेको प्रतिगमन र व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको हो।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा आफूलाई जनताभन्दा माथि ठान्दै व्यक्तिवादी शासनमार्फत् अलोकतान्त्रिक कदम चाल्न थालेपछि दलहरु सडकमा आएको र त्यही सडक आन्दोलनमार्फत् गठबन्धनको सिर्जना भएको उपसभापति खड्काले बताए।
‘२०७४ मा एमाले अध्यक्ष ओलीले चुनाव जित्न रातारात गरेको गठबन्धन जस्तो यो गठबन्धन होईन।’ उनले भने।
अहिलेको निर्वाचनमा जनताको मतले संविधान भत्काउने वा रक्षा गर्ने निर्णय गर्ने भन्दै उनले संविधानको रक्षा, देशको तिव्र विकास चाहने मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।
उनले गठबन्धनमार्फत १२ बुँदे शान्ति प्रक्रियालाई पूर्णता दिन खोजिएको बताए। ‘हामीले शान्ति सम्झौताले परिकल्पना गरेका कामहरुलाई पूर्णता दिन ऐन संशोधनको तयारी गरेका थियौं, एमालेको विरोधका कारण यो संशोधन विधेयक समितिमा अड्किएको छ,’ उनले भने, ‘निर्वाचनपछि बन्ने सरकारले यसलाई निरन्तरता दिन्छ।’
अब मंसिर ४ गतेपछि बन्ने गठबन्धन सरारकारले बजेट छुट्याउँदा कर्णालीलाई पहिलो प्राथमिकता दिनेगरी दलहरुबीच सहमति भएको उनले बताए।