बिहीबार, जेष्ठ ३, २०८१

कर्णाली प्रदेशका ३४८ कैदीबन्दीले मतदान गर्ने

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर २, २०७९


सुर्खेत। कर्णाली प्रदेशभर ३४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३४८ जना कैदीबन्दी मतदानमा सहभागी हुनेछन्।
कार्यालयका अनुसार सुर्खेतमा १ सय १, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदानमा सहभागी हुनेछन्।
निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार वीरेन्द्रनगरको प्रशान्ति वृद्धाश्रममा रहेका पाँच जना ज्येष्ठ नागरिकलाई लाटीकोईलीमा रहेको शिव माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाईएको छ।
यस्तै राष्ट्रिय अपांग महासंघको समन्वयमा वीरेन्द्रनगरका १० वटा मतदानस्थल अपांगतामैत्री बनाईएको निर्वाचन आयोगको प्रदेश कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेशका डोल्पाका केही ठाउँहरुबाहेक सबै जिल्लामा मतदान अधिकृत, कर्मचारी तथा सामग्री पुगिसकेका छन्। हिमपात भएका कारण माथिल्लो डोल्पाका केही मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्न बाँकी रहेकोले शुक्रबार बेलुकासम्म नेपाली सेनाको सहयोगमा पु¥याईने उनले बताए।
चालिसेका अनुसार सुर्खेतका १३९ स्थायी मतदानस्थल, दुईवटा अस्थायी मतदानस्थलअन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन्।
सुर्खेत जिल्लाभर निर्वाचन सुरक्षाका लागि ३ हजार ५०० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुर्खेतमा १३९ स्थायी तथा दुइटा अस्थायी मतदान स्थल छन्।
तीमध्ये २० वटा अति संवेदनशिल, ८६ वटा संवेदनशिल र ३५ वटा सामान्य मतदानस्थल छन्। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार नेपाल प्रहरीका १९ वटा मोवाईल टोली, दुईवटा रिजर्भ टोली, जिल्लाभर निगरानी गर्नेगरी प्रहरी नायव उपरीक्षकको कमाण्डमा एउटा टोली परिचालन गरिएको छ।
यस्तै सुर्खेतका दुईवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा एक/एक वटा टोली परिचालन गरिएको छ। ती टोली क्षेत्र नम्बर १ को मेहलकुना र २ को पञ्चपुरीमा रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
यस्तै सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोवाईल टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीकै चारवटा स्ट्राईकिङ फोर्स र दुईवटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना र १ हजार ४१७ जना म्यादी प्रहरी सुर्खेतमा परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिए।
‘मतदानमा खटिने कर्मचारी तथा उम्मेदवारको सुरक्षाका लागि पनि हामी संवेदनशिल छौं, उम्मेदवार भएका ठाउँ वरिपरि सुरक्षाकर्मी हुन्छन्,’ रिजालले भने, ‘निर्वाचन विरोधी गतिविधिको निगरानी पनि केही दिनयता निरन्तर भईरहेको, अहिलेसम्म जिल्लाको सुरक्षा स्थिति सामान्य देखिएको छ।’