आइतवार, बैशाख २३, २०८१

कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा माओवादीका शर्मा, एमालेका कँडेल सर्वसम्मत्

  
कर्णाली टाइम्स बुधबार, पुस १३, २०७९


सुर्खेत। कर्णाली प्रदेश सभामा सहभागीमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि संसदीय दलको नेता चयन गरेका छन्। यी दुई दलले बुधबार बैठकमार्फ सर्वसम्मत संसदीय दलको नेता चयन गरेका हुन्।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन्। माओवादी भित्र शर्माबाहेक अरु तीन जना पनि संसदीय दलको नेतामा दावेदार थिए। कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट, कृष्ण जिसी दावेदार थिए। बुधबारको वैठकले शर्मालाई सर्वसम्मत गरेको हो।
२०७४ को स्थानीय तहको निर्वाचनपछि गठन भएको रुकुम पश्चिमको जिल्ला समन्वय प्रमुख बनेका शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए।
यस्तै नेकपा एमालेले यामलाल कँडेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ। बुधबार बसेको प्रदेश कमिटीको वैठकले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत रुपमा दलको नेता गरेको हो।
कँडेल चयन हुनु अघिसम्म उनको प्रस्तावकमा दैलेखका विनोद कुमार शाह र समर्थकमा जुम्लाका टेकराज पछाई छन्। कँडेलका प्रस्तावक रहेका शाह पनि दलको नेताका लागि दावेदार थिए।
२०७४ मा पनि कँडेल नै प्रदेश सभा दलको नेता थिए। यो पटकको निर्वाचनबाट उनले गठबन्धनका कालीप्रसाद शाक्यलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
यस्तै बुधबारको एमालेको प्रदेश कमिटी बैठकले कर्णाली प्रदेशमा आफ्नै नेतृत्वमा पहिलो चरणमा सरकार गठन गर्न केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

कर्णाली प्रदेश सभामा अहिले पाँच दल सहभागी छन्। स‌ंसदीय दल गठन गर्न पाउने तीन दलहरुमध्ये नेपाली काँग्रेसले यसअघि नै नेता चयन गरिसकेको छ। काँग्रेसले कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा जीवन शाहीलाई सर्वसम्मत चयन गरेको हो।

प्रदेश सभामा सहभागी मध्ये नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकेक जना सांसद छन्। यी दुई दलको कोरम नपुगेकाले संसदीय दल गठन गर्न पाउँदैनन्।