शनिबार, असार २, २०८१

इजरायलमा १० नेपालीको मृत्युः सरकारले घोषणा गर्यो राष्ट्रिय शोक

  
कर्णाली टाइम्स सोमवार, असोज २२, २०८०


सुर्खेत। इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरुको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘यस अकल्पनीय घटनामा दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ पत्रकारहरुसँग उनले भनिन्।
घटनामा निधन भएका १० जना नेपालीको शव तत्काल ल्याउने पनि उनले बताइन्।
साथै मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। सरकारले इजरायलमा रहेका नेपालीहरुलाई उद्धार गरी स्वदेश ल्याउने निर्णय पनि गरेको छ।