आइतवार, बैशाख २३, २०८१

कर्णालीको विकास पर्यटनमार्फत् गर्न सकिन्छः उपप्रधानमन्त्री खड्का

  
कर्णाली टाइम्स मंगलबार, फागुन १५, २०८०


सुर्खेत। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको उन्नति पर्यटनको विकासमार्फत् गर्न सकिने बताएका छन्। मंगलबारदेखि सुरु भएको तेस्रो कर्णाली एक्सपो–२०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै खड्काले यहाँको भौतिक पूर्वाधार निर्माण गरी भावी पुस्ताका लागि आधार तयार गरिनुपर्ने बताए। उनले समग्र राष्ट्र र कर्णालीको विकासका लागि सबै दल तथा जनप्रतिनिधिहरु एकताबद्ध भएर लाग्नुपर्ने औंल्याए।
सरकारमा हुनेहरुले समयमा काम नगर्दा संघीयतामाथि प्रश्न गर्ने मौका मिलेको भन्दै उनले विवादमा अल्झिन नहुनेमा जोड दिए। पुराना गल्तीहरुलाई सच्याउँदै नयाँ विश्वास रसंकल्पका साथ जनप्रतिनिधिहरुले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने खड्काले बताए।
‘राजनीति र चुनावमा प्रतिस्पर्धा भएपनि जनताको सरोकार राख्ने विकासका कुरामा एकताबद्ध हुन जरुरी छ, लक्ष्य हाम्रो एउटै हो, तरिका फरक पर्नसक्छ,’ उपप्रधानमन्त्री खड्काले भने, ‘यी सबै पक्षलाई केन्द्रीकृत गरेर जिम्मेवारीपूर्वक काम गर्नु आजको आवश्यकता हो।’
उनले विभिन्न अन्तर्राष्ट्रिय कारक तत्वहरुले देशको अर्थतन्त्रमा प्रभाव परेको बताए। मौद्रिक नीतिमा भएका सुधारले केही उद्यमी व्यवसायीहरुका लागि सकरात्मक प्रभाव पार्न थालेको उनले बताए।
उद्घाटन समारोहको सम्बोधनका क्रमा उपप्रधानमन्त्री खड्काले भेरी करिडोर आयोजनाको कार्यालय र विमानस्थल सार्ने कुरामा आफूमाथि लगाईएको आरोप वास्तविक नभएको बताए। ‘विमानस्थल सार्नुभन्दा पनि नयाँ स्थापना गर्न खोजिएको हो, वीरेनद्रनगरमा रहेका कार्यालय र विमानस्थल सारेको भन्ने आरोप खासमा वास्तविक होईनन्,’ उनले भने।
उनले सुर्खेतको वीरेन्द्रनगरमा रहेको विमानस्थलको संरचना तथा उपकरणमा गरिएको सुधारमा आफूले पनि महत्वपूर्ण भूमिका खेलेको बताए।
‘विमानस्थल सार्ने कुरा सुन्दा मलाई हाँसो लाग्छ, उतिबेलाका तत्कालीन पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले रामघाटमा विमानस्थल बनाउने प्रस्ताव राख्नुभएको हो,’ खड्काले भने, ‘यहाँका लागि ठूला विमान उडान–अवतरण गर्न सक्ने विमानस्थलको खाँचोलाई मध्यनजर गरी रामघाटमा विमानस्थलको प्रस्ताव अघि बढाईएको हो, यदि यहाँका जनतालाई यो कुरा चाहिँदैन भने प्रदेश सरकारले निर्णय गरोस्, त्यो अधिकार कर्णालीको मन्त्रिपरिषदलाई छ।’