सुर्खेत। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा आफू सभापतिको लागि दावेदार भएको संकेत गरेका छन्। आइतबार सुर्खेत आएका सिंहले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू कुनै पनि हालतमा पछाडि नहट्ने संकेत गरेका हुन्।
‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ, यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ।’
उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि नै सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले उनलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको बताए। आफूले पार्टीलाई संगठनात्मक रुपमा मजबुत बनाउने अठोट गरेको उनले बताए।
‘पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर प्रतिस्पर्धा पनि विधि र विधानअनुसार हुनुपर्छ,’ सिंहले भने, ‘पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रुपमा लिनुपर्छ, विवादका रुपमा होइन।’
उनले पार्टीको महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताए।
उपप्रधान तथा शहरी विकासमन्त्री समेत रहेका सिंहले अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको बताए।हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरुलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने उनले बताए।
‘काम चमत्कारिक र द्रूत रुपमा सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो सोच हो, परिस्थिति हेर्दा सेवाप्रवाह सहज बनाउन अध्यादेश ल्याउनु आवश्यक ठानिएको छ।’ उनले भने।