सुर्खेत। नेपालको प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु भएको छ।
सोमबार बिहान काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका ५४ बर्षीय का भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।
जिल्ला अस्पताल मुगुका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वासप्रस्वासमा समस्या भएको भन्दै चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए।
चेकजाँचका क्रममा शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि राति अस्पताल भर्ना हुन जिल्ला अस्पतालले सुझाव दिएको थियो। तर विश्वकर्मा चेकजाँच गराए रारा नजिकको होटल भएको स्थान सल्लेर फर्किएका थिए।
सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरुले एम्बुलेन्समा पुनः अस्पताल लिएका थिए। अस्पताल पुर्याउँदा विश्वकर्माको मृत्यु भइसकेको थियो।
अस्पतालका चिकित्सक नकुल शाहका अनुसार विश्वकर्मालाई दमको समस्या थियो।
आइतबार विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो।