शुक्रबार, बैशाख १४, २०८१

गाउँघरमा सशस्त्रको कोरोना गीत (भिडियो कथा)

  
कर्णाली टाइम्स आइतवार, चैत्र ३०, २०७६

सुर्खेत । अहिले कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमणले विश्वका महाशक्ति राष्ट्रहरुसमेत थला परेका छन् । नेपालमा समेत संक्रमण भित्रिइसकेको अवस्थामा सरकारले लकडाउन गरी रोकथाम तथा नियन्त्रणको उपाय अपनाइरहेको छ । यद्यपि, ग्रामीण क्षेत्रमा भने कोरोनाविरुद्ध सचेतना राम्ररी पुग्न सकेको छैन ।
यही सन्दर्भमा सुर्खेतस्थित सशस्त्र प्रहरी बलको रक्तकाली गणले ग्रामीण क्षेत्रमा सचेतना अभियान सुरु गरेको छ । कोरोनासम्बन्धी गीत र सचेतनामूलक सामग्री रेकर्ड गरेर बस्तीमा सुनाउने गरिएको छ ।
यो अभियानमा सशस्त्रको ठूलो जत्था भने जाँदैन । गणका एकजना डीएसपी विमल डाँगी आफै मोटरसाइकल चलाउँछन् । उनको पछाडि एकजना सशस्त्र प्रहरी जवान टेप रेकर्डर बोकेर बस्छन् । अर्को मोटरसाइकलमा एकजना आउँछन् । ‘हामीले यही शैलीमा गाउँटोलमा पुगेर कोरोनासम्बन्धी सचेतना अभियान चलाइरहेका छौं,’ डीएसपी डाँगीले भने, ‘मान्छेहरु गीतसँगै कोरोनासम्बन्धी सूचना सुन्न पाउँदा दंग पर्ने गरेका छन् ।’ शिक्षा, स्वास्थ्य र सरसफाईसम्बन्धी सचेतना कमजोर भएका बस्तीमा अभियान थालिएको उनले बताए ।


गीतमा कोरोनाबारे परिचय, यसबाट बच्नको लागि अपनाइने उपाय र नेपाल सरकारले लिएको नीतिबारे कुरा उल्लेख छन् । सचेतना गीतले सबैको ध्यान खिच्ने गरेको छ । मान्छेहरु चनाखो भएर सुन्ने गर्छन् । बाहिर हिँडिरहेका स्थानीय बासिन्दालाई लकडाउनको नियमबारे जानकारी पनि गराउने गरिएको डीएसपी डाँगीले बताए ।