शनिबार, कार्तिक १०, २०८१

‘मेडिकल मार्च’ मा काे डाक्टर कहाँ खटिए ?

  
कर्णाली टाइम्स सोमवार, बैशाख २९, २०७७
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरबाट हुम्ला जाँदै । तस्विर सौजन्य : डा. गजेन्द्र भामको फेसबुकबाट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबारदेखि ‘मेडिकल मार्च’ सुरु गरेको छ । प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरि मार्च अभियान सुरु गरिएको हो ।

सरकारले मार्चअन्तर्गत हुम्लाका ५ स्थानमा, कालीकोटका ४ स्थानमा, डोल्पा, सल्यान र मुगुका ३/३ स्थानमा, सुर्खेत, दैलेख, रुकुमपश्चिम र जाजरकोटका २/२ स्थानमा तथा जुम्लाको एक स्थानमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखको लाकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्रमा डा. जीवन ज्ञावली, राकम कर्णाली हेल्थ पोष्टमा डा. सुवेश चौधरी, डोल्पाको इल हेल्थपोष्टमा डा. खीम केसी, त्रिपुराकोट हेल्थपोष्टमा डा. मच्छिन्द्र बडुवाल, शहरतारा हेल्थपोष्टमा डा. रमेश रोका, हुम्लाको दार्मा हेल्थपोष्टमा डा. गजेन्द्र भाम र एचए रमेश काफ्ले, सर्केघाटस्थित हेल्थपोष्टमा डा. दिल शाही रोका र एचए प्रकाश भण्डारी, श्रीनगर हेल्थपोष्टमा डा. हरि सापकोटा र एचए वृषबहादुर महत, मैला हेल्थपोष्टमा डा. हेमन्त चौधरी र एचए टेकेन्द्र महत तथा यालबाङ हेल्थपोष्टमा स्थानीय चिकित्सकलाई खटाइएको छ । त्यसैगरी जाजरकोटको दल्ली हेल्थपोष्टमा डा. शिव तिवारी, दसेरा हेल्थपोष्टमा डा. भूपेन्द्रप्रकाश मल्ल, जुम्लाको नाराकोट हेल्थपोष्टमा डा. शम्भु यादव र डा. विशाल पौडेल, कालीकोटको राम्नाकोट हेल्थपोष्टमा डा. सुशान्त आचार्य र एचए हरिचन्द्र रावत, सुकाटिया हेल्थपोष्टमा डा. टंक आचार्य र एचए नरेन्द्र शर्मा, जुविथा हेल्थपोष्टमा डा. कमल घिमिरे, कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. जीतेन्द्र महतो, मुगुको नाथर्पु हेल्थपोष्टमा डा. सुमन सिम्खडा र रामबाबु यादव, पुलु हेल्थपोष्टमा डा. शेरमान गुरुङ र एचए हरि बुडथापा, काँटडाँडा प्राथमिक स्वास्थ्य केन्द्रमा डा. किशोर खड्का, रुकुम पश्चिमको चौरजहारी अस्पतालमा डा. शुभेच्वा वाइवा, डा. दुर्गा थापा र एचए÷स्टाफनर्सहरु विकास न्यौपाने, रामबहादुर भियाल, बिनिता डिसी तथा पूजा बिसी, आठबीसकोट अस्पतालमा डा. चन्देशकुमार सिंह, सल्यानको धनवाङ हेल्थपोष्टमा डा. सनम शाक्य, कालीमाटी काल्चे हेल्थपोष्टमा डा. रहिम कोजू, देवस्थल हेल्थपोष्टमा डा. इन्द्रबहादुर थापा, सुर्खेतको गुटु हेल्थपोष्टमा डा. लोकराज कँडेल र अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. अस्मिता भट्टराई खटिएका छन् ।

सामाजिक विकासमन्त्री दल रावलका अनुसार एउटा टोलीमा चिकित्सकसहित करिब ६ जना स्वास्थ्यकर्मी पनि सामेल हुनेछन् । ती स्वास्यकर्मी स्थानीय स्तरबाट खटिनेछन् । ‘स्थास्थ्यकर्मीको टोली कम्तीमा १० दिनसम्म खटाइएको स्थानमा बस्नेछ,’ उनले भने, ‘सो अवधिमा टोलीले स्थानीयस्तरमा स्वास्थ्यजाँच र कोरोना परीक्षण गर्नेछ ।’ टोलीको सहयोगमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको उनले बताए ।

परीक्षणलाई तीब्र पार्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले ५/५ हजार थान आरडीटी किट र आवश्यक मात्रामा पीसीआर परीक्षणका सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएका छन् । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले पहिलो चरणमा १ हजार थान भीटीएम, प्रोसेसिङ किट र रि–एजेन्ट खरिद गरेर ल्याइएको बताए ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सुरुमा १० दिनसम्म भनिए पनि आवश्यकताअनुसार टोली एक महिनासम्म बस्ने बताए । टोलीले कोरोनाविरुद्ध जनचेतना फैलाउने, स्थानीय स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने र स्थानीय बासिन्दाको अन्य स्वास्थ्य समस्या पनि हेर्ने उनको भनाइ छ ।