शनिबार, कार्तिक १०, २०८१

नयाँ सिडियोलाई गृहजिल्लामै व्यापारीबाट चुनौतीपूर्ण स्वागत !

  
जगतदल जनाला विक मंगलबार, जेष्ठ २०, २०७७
सुर्खेतका नयाँ सिडियाे हिरालाल रेग्मी

सुर्खेत । कोरोना प्रकोपको कारण संघीय सरकारले देशभर लकडाउन लगाएको छ । लकडाउन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी हरेक जिल्लामा संघीय सरकारका प्रतिनिधिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी (सिडियो) को हुन्छ।

तर, सुर्खेतमा नयाँ सिडियोको रुपमा सुर्खेतकै हिरालाल रेग्मी सरुवा भएका छन् । उनी कार्यायमा हाजिर हुन नपाउँदै सुर्खेतका व्यापारी–व्यवसायीको साझा संगठन सुर्खेत उद्योग वाणिज्य संघले लकडाउन उलंघन गर्ने कडा निर्णय गरेको छ । संघको यो निर्णयलाई सहज रुपमा अवतरण गराउन रेग्मीले के–कस्तो भूमिका खेल्लान्, त्यो हेर्न धेरै दिन कुर्नुपर्ने छैन ।

संयोग नै मान्नुपर्छ, रेग्मी सुर्खेतको लागि सिडियो भएको दुई दिनमै उवासंघले लकडाउन नमान्ने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जेठ २१ गतेदेखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सुरक्षा सावधानी अपनाउँदै सम्पूर्ण पसलहरु खोल्ने उल्लेख छ । फलफूल, तरकारी, डेरी, ग्याँस पसलहरु भने बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ ।

आफ्नै गृहजिल्लाका व्यापारी–व्यवसायीको यो कडा र सरकारी निर्णयको विरुद्ध आएको निर्णयलाई कसरी निश्क्रिय पार्लान् ? प्रतिक्षाको विषय बनेको छ । तर, संयोग नै मान्नुपर्छ, सुर्खेतका व्यापारी–व्यवसायीले आफ्नै जिल्लावासी सिडियोलाई कडा चुनौतीले स्वागत गरेका छन् ।