शुक्रबार, बैशाख १४, २०८१

‘सरकार हामीलाई विस्थापित हुनबाट बचाउ’ (भिडिओसहित)

  
जगतदल जनाला विक शनिबार, असार २०, २०७७

सुर्खेत । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेकोले आफुहरु विस्थापित हुनबाट बचाउन सरकारलाई आग्रह गरेका छन् ।
लकडाउनमा होटलहरु पुर्णरुपमा बन्द गरी सञ्चालन  नभएकोले घाटामा भएको भन्दै व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्क बहादुर शाहीले बताए ।
‘व्यवसाय सञ्चालन गर्नका लागि हामीले बैंकबाट ऋण तानेका छौं, घर धितो राखेका छौं,’ अध्यक्ष शाहीले भने, ‘ लकडाउनमा व्यापार नै ठप्प भएपछि होटल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेकोले सरकारले उचित राहत दिनुपर्छ ।’
होटल व्यवसायीहरुले आइतबार १ बजे विभिन्न मागहरु राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।
यो अवधिको बैंकको ब्याज मिनाहा गर्नुपर्ने, न्यून व्याजदरमा पुनः ऋण उपलब्ध गराउनुपर्ने, घरबेटी र व्यवसायलाई मर्का नपर्ने गरी राहत प्याकेज ल्याउनुपर्ने लगायतका मागहरु होटल व्यवसायीहरुका छन् । कर्णालीका ७० प्रतिशत व्यवसायीहरु भाडमा बस्ने भएकोले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको अध्यक्ष शाहीले बताए ।


अध्यक्ष शाहीका अनुसार सुर्खेत जिल्लामा मात्रै १२ सय ५० र कर्णालीका १० वटै जिल्लामा २५ सय भन्दा बढी होटलमा ५ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् । बन्दाबन्दी (लकडाउन)का कारण होटल व्यवसाय बन्द हुँदा रोजगारी मात्रै गुमेको नभई अबौंको नोक्सानी भएकाले सरकारले आफुहरुलाई सहयोग गर्नुपर्ने होटल व्यवसायीहरुको भनाई छ ।
होटल व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भई सामान्य अवस्थामा आउने संभावना नभएकाले संक्रमण अवधिभर बिजुली पानीको महशुल कम्तिमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ ।

भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।