शनिबार, कार्तिक १०, २०८१

प्रभावकारी बन्दै वीरेन्द्रनगरको ‘एक घर दुई बिरुवा, हामी आफै कुरुवा’ कार्यक्रम

  
जगतदल जनाला विक मंगलबार, असार २३, २०७७

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले वातावरणलाई हरियाली बनाउने उद्देश्यले एक घर दुई विरुवा, हामी आफैं कुरुवा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आव २०७४÷०७५ बाट सुरु गरिएको उक्त कार्यक्रम  वीरेन्द्रनगरलाई  ग्रीन सिटी बनाउने अवधारणा अनुसार वातावरणलाई हरियाली बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उपमेयर मोहनमायाँ ढकालले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि नगरपालिकाले प्रत्येक वर्ष निरन्तरता दिंदै आएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका नगरपालिकाले घरको नक्सा गर्दा बिरुवा रोपे नरोपेको बुझेर नरोपेको भए बिरुवा रोपेपछि मात्र नक्सा पास गर्ने गरेकोे उपमेयर ढकालले बताइन् ।
नगरपालिकाले ग्रिन सिटीका लागि इच्छुक व्यक्तिहरुलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराउने र वीरेन्द्रनगरका विभिन्न स्थानमा ९ हजार कागतीका विरुवा, ५ हजार अन्य विरुवाहरु रोप्ने तयारी रहेको छ ।
‘हामीले वीरेन्द्रनगरलाई ग्रिन सिटी बनाउनका लागि ‘एक घर दुई बिरुवा, हामी आफै कुरुवा’ कार्यक्रम मार्फत अनिवार्य रुपमा एक घरका अगाडी दुई बिरुवा लगाएर आफैले सुरक्षा गर्नुपर्ने नियम बनाएका छौं,’ उपमेयर ढकालले भनिन्, ‘नगरपालिकामा नक्सा पास गर्नु अघि घर अगाडी बिरुवा छन् की छैन भनी सोधेर मात्र पास गर्ने गरेका छौं।’
बजार क्षेत्र र सार्सार्वजनिक स्थलमा बढी फोहोरको समस्या देखिएपनि त्यसको समाधान गर्ने गरी नगरपालिका अगाडी बढेको उनले बताइन् ।
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि बनाएको कार्यविधी कार्यान्वयनमा समस्या भएको बताउँदैं आम नागरिकमा मनभित्रैबाट सोचेर यो दायित्व हाम्रो पनि हो भन्ने सोचेपछि मात्र नीति, नियम लागु हुने उपमेयर ढकालको भनाई छ ।
हटलाइनका अव्यवस्थित बिरुवाहरुलाई पुनः वृक्षारोपण गर्ने, प्लास्टिक मुक्त नगर बनाउने, ढल निकासको व्यवस्थापन गर्ने, फोहोर व्यवस्थापन गर्ने, बोट बिरुवा लगाउनमा हरेक नागरिकलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्नका लागि एक २०करोड रकम विनियोजन गरिएको छ ।
वीरेन्द्रनगरका हरेक सडक र टोल–टोलमा बिरुवा रोप्ने कार्यक्रम प्रभावकारी भएको ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेतका’ अभियान्ता तथा बालरोग विशषेज्ञ डाक्टर नवराज केसीले बताए ।
थुपारिएको फोहोरहरुबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा मानिसको शरीरसम्म पुगी विभिन्न रोगहरुको संक्रमण हुने भएकोले कम फोहोर कसरी बनाउने, रिसाइकल कसरी गर्ने भन्ने सोच आम नागरिकबाट हुनुपर्ने डा. केसीकोे भनाई छ ।
डिभिजन वन कार्यालयका प्रमुख गोबिन्द दाहालले हरियाली शहर बनाउन वृक्षारोपण कार्यक्रम राम्रो भएपनि वीरेन्द्रनगरमा दैनिक ३० टन फोहोर फाल्ने ठाउँ (डम्पिङ साइड)हरु व्यवस्थित गर्न नसक्दा समस्या परेको बताए ।