बिहीबार, बैशाख १३, २०८१

यातायात व्यवसायी भन्छन् ‘यात्रु हुँदैनन्, खाली गाडी चलाएका छौं’

  
जगतदल जनाला विक शनिबार, साउन १०, २०७७
सुर्खेत काँक्रेबिहार यातायात प्रालिको हाइस यात्रु पर्खदै ।

सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) जारी गर्यो ।
समय–समयमा लकडाउन थपिदै गएपछि विभिन्न व्यवसायी जस्तै यातायात व्यवसायी पनि मारमा परे । झण्डै चार महिनापछि साउन ८ गतेबाट सुर्खेत स्थित सात वटा यातायात संस्थाले आफ्नो सेवा सुरु गरे ।

तर कोरोना भाइरसको महामारीको त्रासका कारण लामो तथा छोटो दुरीका यातायातमा यात्रु नभएपछि यात्रु खोज्दै खाली हिँडाल्नुपर्ने बाध्यता रहेको देउती नागरिक यातायाता प्रालिका कर्मचारी चन्द्र प्रकाश भारतीले बताए । लकडाउन अघि सबै गाडी खचाखच हुने देउती नागरिकले अहिले २ वटा मात्र हाइस चलाउँदा पनि सिटहरु खाली हुने गरेको उनको भनाई छ ।
गाडीको अहिलेको कमाइले इन्धन खर्च पनि दिन नपुगेको सुर्खेत काँक्रेबिहार यातायात व्यवसायी प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले बताए ।

‘अहिले गाडीहरु चलेपनि यात्रु नहुँदा खाली गाडी गुडाउन बाध्य छौं,’ अध्यक्ष सापकोटाले भने, ‘आजभोलीको कमाइले गाडीमा इन्धन हाल्न नपुग्ने स्थिति छ ।’
लकडाउन अगाडी बस, हाईस र भ्यान गरी १ सय ६० वटा यातायात चलाएको सुर्खेत काँक्रेले आजभोली सुर्खेतको पश्चिम बिजौरा, पुर्व बबइ र गुराँसेसम्मका लागि १२ वटा बस, हाइसहरु सञ्चालन गरेको छ ।

अरुबेला यात्रु र सवारी साधनले खचाखच बसपार्क, कोरोना त्रासका कारण सुनसान ।

‘पहिले नेपालगञ्ज गएर फर्किएपछि हाम्रा चालकले एउटा गाडीको दैनिक खर्च कटाएर ५÷६ हजार दिन्थे । हिजो आज जिल्लाभित्रका जहाँ गएपनि ५ ÷७ सय मात्रदेखि दिने गरेका छन् । यति पैसाले स्टाफलाई भत्ता, लुब्रिकेन्ट, टायर, इन्धन कसरी व्यवस्थान हुन्छ ? अझ गाडीको किस्ता तर छँदै छ,’ सापकोटाले भने ।

अहिले गाडी चलाएमा क्रमिक रुपमा यात्रुको आवत–जावत बढ्ने र पछिको लागि माहोल बन्ने उनको भनाइ छ । अहिले नाफा नभएपनि सेवा दिइएको उनले बताए ।

सुर्खेतकै धेरै लगानी रहेको मध्यपश्चिमाञ्चल यातायात सेवा सुर्खेत प्रालिको हालत पनि उस्तै छ । बस, फोर्स र जीप गरी ३ सय ९८ वटा यातायातबाट सेवा दिइरहेको यातायात प्रालिले आजभोली जिल्लाभित्र दैनिक ४ गाडी सञ्चालन गरेको यातायात प्रालिका सचिव नारायण चपाईले जानकारी दिए । उनका अनुसार २ गाडीमा २० जना पनि यात्रु हुँदैनन् ।

सुर्खेतकै धेरै लगानीमा सञ्चालन गरिएको मध्यपश्चिमाञ्चल यातायात सेवा सुर्खेत प्रालिको सुनसान काउण्टर ।

‘योेसमयमा नाफा भन्दा पनि पहिलो प्राथमिकता भनेको त सेवा हो । गाडी चलाउँदा समस्यामा परेका यात्रुहरुको पनि उद्दार हुने र स्टाफले पनि काम पाए,’ सचिव चपाईले भने, ‘नाफाकै कुरा गर्ने हो भने चालकलाई दिने पैसा पनि आउँदैन ।’
यात्रु र स्टाफको स्वास्थ्य सुरक्षालाई विशेष ध्यानमा राखि सबै गाडीलाई दैनिक निर्मलीकरण, प्रत्येक यात्रुलाई सेनिटाइजर, मास्क दिने गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।

अहिले देशभरीकै सार्वजनिक यातायातको अवस्था दयनीय भएपनि भोलिको दिनको लागि माहोल बनाउन पनि व्यवसायीहरुले घाटा खाएर सेवा दिइरहेका छन् ।