शुक्रबार, बैशाख ७, २०८१

कोरोना कोषमा २ करोड ४३ लाख, उद्योग परिसंघको हातेमालो

  
जगतदल जनाला विक आइतवार, साउन ११, २०७७
कर्णाली प्रदेश सरकारलाई ८ लाख बराबरको राहत सहयोग गर्दै नेपाल उद्योग परिसंघका कर्णाली प्रदेश अध्यक्ष टेकबहादुर भण्डारी

सुर्खेत । कोरोना प्रकोपको कहरमा विभिन्न संघसंस्था र व्यक्तिले राहत सहयोग गरिरहेका छन् । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद कोषमा हालसम्म करिब २ करोड ४३ लाख रुपैयाँ जम्मा भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाइटमा उल्लेखित विवरणअनुसार विभिन्न ६३ वटा संघसंस्था र व्यक्तिले आर्थिक तथा जिन्सी सहयोग गरेका छन् । कोषमा २ करोड ३५ लाख रुपैयाँ नगद र करिब ८ लाख रुपैयाँको खाद्यान्न तथा जिन्सी जम्मा भएको छ । सबैभन्दा बढी रकम बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था र इसीसी एनआइबीएलले २५/२५ लाख दिएका छन् । व्यक्तिगत रुपमा पदमबहादुर विश्कर्मा र सावित्री शर्मा पौडेलले ५१/५१ हजार, प्रदेश सांसद ठम्मर बिष्टले ४० हजार, सुकल्याण पराजुलीले ५१ हजार, टीकाकुमारी भट्टले १५ हजार र राजेन्द्र बुढाले १२ हजार ११५ रुपैयाँ सहयोग गरेका छन् ।

निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघले ८ लाख रुपैयाँ बराबरको खाद्यान्न र जिन्सी सहयोग गरेको छ । परिसंघका कर्णाली प्रदेश अध्यक्ष टेकबहादुर भण्डारीले चामल, दाल, चिउरा, नुन, तेल प्रदेश सरकारलाई सहयोग गरेका हुन् । ‘मैले व्यक्तिगत रुपमा पनि केही सहयोग गरेको छु, तर म आवद्ध नेपाल उद्योग परिसंघको तर्फबाट देखिने गरेर अलि बढी सहयोग गरेको छु,’ सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘कोरोना संक्रमणको बेला सहयोग गर्न पाउँदा सन्तोष मिलेको छ ।’ उद्योग परिसंघ नेपाल उद्योग वाणिज्य संघबाट अलग्गिएर बनेको निजी क्षेत्रको संस्था हो । याे संस्थाकाे सुर्खेतलगायत जिल्लामा शाखाहरु भने विस्तार हुन सकेका छैन ।