बुधबार, बैशाख ५, २०८१

रुकुम हत्याकाण्ड विरुद्ध दलित अधिकारकर्मी, उच्च अदालमैं धर्ना

  
जगतदल जनाला विक बिहीबार, असोज ८, २०७७

सुर्खेत । रुकुमपश्चिमको सोती हत्याकाण्डका दोषीलाई कार्वाहीको माग गर्दै बिहीबार उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मीले धर्ना दिएका छन् ।

गत जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित उनका ६ जनालाई विभत्सव तरिकाले गरिएको हत्यामा संलग्नलाई यथासिघ्र कारवाहीको माग गर्दै नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मीहरुले ५ घण्टासम्म धर्ना दिएका हुन् ।

नवराज विककी दिदी सरिता विकले घटनामा संलग्न भएकालाई नै अदालतबाट छोड्ने चलखेल भएको आरोप लगाउँदै यदि त्यस्तो कार्य अदालतबाट भएपछि भाइ नवराज लगायत उनका साथीहरुको आत्माको शान्तिका लागि जस्तोशुकै आन्दालेन गर्न पनि तयार रहेको चेतावनी दिइन् ।


अधिकारकर्मी सरु सुनारले पीडितको न्यायका लागि राज्यले ध्यान नदिँदा झना पीडा भएको बताइन् । ‘पीडितलाई राज्यले न्याय नदिँदा सिङ्गो दलित समुदाय नै अहिले शोकमा डुबेको छ,’ सुनारले भनिन्, ‘जो हत्यामा संलग्न छन् उनीहरुलाई पनि फेरि अदालतले निदोष सावित गर्न खोज्यो भने यो हाम्रा लागि मान्य छैन ।’

नवराज विकसहितको हत्यामा न्याय हराएकोले न्याय खोज्न आफुहरु अदालतको ढोकासम्म आएको नेपाल दलित संघ सुर्खेतका अध्यक्ष भीम बहादुर शाही परियारले बताए ।

प्रेम बिवाह गर्न खोज्दा दलित भएकै कारण नवराज लगायत उनका साथीहरुलाई मारिएकोले घटनामा संलग्न मध्येका ६ जनालाई सम्मानित उच्च अदालतले पनि कुनैपनि बहानामा नछोडोस् सत्य तथ्यमा रहेर न्याय सम्पादन गरोस भनेर देशका विभिन्न ठाउँबाट आएका दलित अधिकारर्मीहरु सुर्खेतमा आई धर्ना दिएका छन् ।

सोती घटनामा संलग्न भएका २३ जनालाई जिल्ला अदालत रुकुमले पुर्पक्षका लागि जेल चलान गरेको चियो । उनीहरुमध्ये ६ जनाले आफुहरु त्यो घटनामा कुनैपनि संलग्न नरहेकोले जिल्ला अदालतको आदेशलाई खारेज गरी पुर्वक्षमा नभई बाहिरबाटै धरौटीमा मुद्धा लड्न पाउँ भनि ७३ नम्बरको निवेदन उच्च अदालत सुर्खेतमा दिएका छन् ।

बिहीबार उक्त निवेदन उपर उच्च अदालत सुर्खेतमा थुनछेक बहस सुरु भएको छ । प्रतिवादीको तर्फका नेपालगञ्जबाट आएका वरिष्ठ अधिवक्ता भोला सिंहसहित काठमाण्डौंबाट आएका १९ जना अधिवक्तहरुले वहस गरेका छन् ।

बिहीबार नै बहस नसकिएपछि अर्को बिहीबार पुनः बहसका लागि बोलाइएको उच्च अदालत सुर्खेतका वैतनिक वकिल प्रकाशकुमार चन्दले जानकारी दिए । उनका अनुसार थुनछेक बहस असोज महिनाभरी लाग्न सक्ने छ ।


दलित अगुवा सञ्जुसिंह विकले दोषीलाई सम्मानित अदालतले कुनै पनि बाहानामा नछोडी कारवाहीको प्रक्रिया अगाडी नबढाए आन्दोलन झनै उग्र हुने चेतावनी दिए ।

यस्तै युवा नेता तथा समाजसेवी तिर्थ सुनारले सोती घटनालाई राजनीतिककरण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने बताए ।
‘पीडकलाई कुनै पनि बहानामा छुटकारा दिन हुँदैन,’ सुनारले भने, ‘न्यायको देशमा न्याय नमरोस् पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय होस् ।’

सुर्खेतका संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा दलित अधिकारकर्मी खगेन्द्र सुनार, दीपक सोनी लगायतले न्यायको पक्षमा अदालत र सम्पुर्ण न्यायप्रेमी नागरिकहरुलाई अपिल गरेका छन् ।