बुधबार, बैशाख ५, २०८१

समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक २०, २०७७

सुर्खेत । राजीवविक्रम शाह राजनीति र समाजसेवामा एकैसाथ जमेका व्यक्तित्व हुन् । राजनीति र समाजसेवाई सँगसँगै अघि बढाउन निकै मुस्किल छ । तर, उनले आफ्नो जीवनमा दुईटै पाटोलाई सन्तुलित ढंगले अघि बढाइरहेका छन् । समाजसेवा गर्दागर्दै जाजरकोटबाट २०७० सालको संविधानसभा निर्वाचन जितेपछि उनी राजनीतिमा स्थापित भएका हुन् । उनी भन्छन्, ‘मैले राजनीतिक गर्ने भनेकै समाजसेवाको लागि हो, त्यसैले दुईर्ट काम गर्न गाह्रो छैन ।’ परिस्थितिले राजनीतिमा ल्याएको उनी बताउँछन् ।

जाजरकोटलाई राजनीति गर्ने थलो बनाएका शाहको पारिवारिक पृष्ठभूमि पनि जाजरकोटबाटै सुरु हुन्छ । जाजरकोटी राजाका कान्छा भाई कर्णेल हरिविक्रम शाह जाजरकोटबाट काठाडौं बस्न गएका थिए । हरिविक्रम राजीवका बुवाको पनि हजुरबुवा हुन् । त्यसपछि राजीवका हजुरबुवा, बुवासमेत काठमाडौंमै जन्मिए । काठमाडौंमै जन्मिएका भए पनि राजीवले जाजरकोटलाई राजनीति र समाजेवा गर्ने थलो बनाए ।

२०२४ चैत २६ गते काठमाडौंमा जन्मिएका राजीवको ६ बर्षसम्म बाल्यकाल काठमाडौंमै वित्यो । उनी ६ बर्षको हुँदा दार्जिलिङ पढ्न गए । दार्जिलिङको प्रतिष्ठित बोर्डिङ स्कुलबाट १० कक्षासम्मको पढाइ सकेर उनी नयाँदिल्ली गए । त्यहाँ उनले अमेरिकन एम्बेसी स्कुलमा उच्च शिक्षा पढे । उच्च शिक्षा सकिएपछि उनी अमेरिका गए । अमेरिकामा ५ बर्ष बसे, त्यसपछि बेलायतमा २ बर्ष बसे । राजीव नेपाल फर्किँदा २५ बर्षका थिए । ‘बुवा बिरामी भएपछि नेपाल फर्किएँ, म आएको केही महिनापछि बुवा बित्नुभयो,’ उनले भने, ‘म पनि त्यसपछि नेपालमै बस्नुप¥यो ।’

नेपालमा देखिएको जातीय, भेगीय हिसाबले समाजमा भएको विभाजनले आफूलाई सोच्न बाध्य बनाएको राजीव बताउँछन् । ‘नेपालमा जात, भेगले विभाजित गरेको देखिन्छ, हामीलाई बाहिर जुन रुपमा जाँदा पनि जात, वर्ग, भेग हुँदैन मात्र नेपाली हुन्छ,’ उनले भने, ‘यसले मलाई सोच्न बाध्य बनायो, यी विषयमा आपत्ति पनि जनाउने गरेको छु ।’

समाजको वर्गीकरणले विकासमा बाधा हुने उनको भनाइ छ । फरक विचार र फरक जातको विषयलाई लिएर हुने हिंसात्मक गतिविधि र अर्कोको अस्तित्व नस्वीकार्ने प्रवृत्तिले आफूलाई अझ चिन्तित बनाएको उनी बताउँछन् । उनलाई सामाजिक सेवामा लाग्नका लागि विभाजित समाजको पनि भूमिका रहेको छ । एकताको भावनाले आफूलाई समाजसेवामा तानेको उनी बताउँछन् । उनका अनुसार करिब ३ दसक अघिसम्म काठमाडौंमा जाजरकोटका केही सीमित मान्छेहरु मात्र आउँथे । उनी काठमाडौंमै जन्मे हुर्के पनि जाजरकोटका मान्छे भनेपछि हुरुक्कै हुन्थे । ‘जाजरकोटबासीसँगको यही भावनात्मक एकताले मलाई जाजरकोटमै पुगेर समाजसेवा र राजनीति गर्ने मन लागेको हो,’ उनले भने ।

समाजसेवाको लागि ट्रस्ट
सामाजिक र राजनीतिक क्षेत्रमा अवसर भन्दा चुनौती धेरै भएको राजीब बताउँछन् । जाजरकोटमा फैलिएको झाडापखाला महामारीदेखि अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीको बेलासमेत महत्वपूर्ण सहयोग गरेको उनी सामाजिक सेवामा आर्थिक पक्ष चुनौतीको रुपमा रहेको बताउँछन् । ‘म एउटा व्यक्ति हो, सँधै आफ्नौ खल्तीबाट मात्र पनि सहयोग गर्न नसकिने रहेछ,’ उनले भने, ‘यही कारणले मेरो समाज सेवा त रोकिँदैन, यही चुनौतीका बीच पनि सेवामा निरन्तरता दिन मैँले एउटा फाउण्डेशन बनाएको छु ।’

शाहले कुमारी ट्रष्ट स्थापना गरेको छन् । उक्त ट्रष्टमार्फत सहयोग पनि जुटेको छ । फाउण्डेशनलाई एनजीओको रुपमा नभई सहयोग जम्मा गर्ने संस्थाका रुपमा स्थापना गरेको उनले बताए । ‘मेरो उद्देश्य फाउण्डेशनलाई एनजीओको रुपमा सञ्चालन गर्ने भन्दा पनि सम्पन्न नेपालीबाट २ प्रतिशत जति योग्दान गर्न आग्रह गर्ने हो,’ शाहले भने, ‘उहाँहरुलाई पनि समाजको लागि केही योगदान गर्नुुपर्छ भन्ने लाग्छ भने यसमा सहयोग गर्नुहुन्छ, त्यसबाट समाजलाई पनि फाईदा पुग्छ ।’

सामाजिक सेवामा उनलाई कतिपय व्यक्तिबाट आउने प्रतिक्रियाले भने दुःखी बनाउने गरेको छ । सामाजिक सेवामा दिइने प्रतिक्रियामा पनि राजनीतिक पसेको उनको भनाइ छ । ‘केही व्यक्तिले अर्काले गरेको राम्रो कामलाई पनि नराम्रो भन्ने गर्छन्,’ शाहले भने, ‘मलाई त कतिपयले राजीवको सेवाभन्दा पनि यो व्यापार हो भनेका छन्, यसले मलाई दुखः लाग्छ ।’ केही मात्रामा त्यस्ता प्रतिक्रिया आए पनि धेरैजसो प्रतिक्रिया सकारात्म आउने गरेको उनले बताए ।

सामाजिक विभाजनजस्तै राजनीतिक रुपमा हुने विभाजन राजनीतिभित्रको चुनौती भएको शाह बताउँछन् । राजनीतिभित्र बुद्धिजीवी भनिएकाहरु नै विभाजित हुँदा चुनौती हुने उनले बताए । गुटबन्दी राजनीतिभित्रको मुख्य चुनौतीका रुपमा रहेको उनको बुझाइ छ ।

राजनीतिक चुनौती र योजना
सानैदेखि बाहिर बसेको कारण प्रजातान्त्रिक समाज बुझ्न पाएका राजीव नेपाल आएपछि पनि प्रजातान्त्रिक व्यवस्थामा जोड दिने पार्टी नेपाली काँग्रेसमा जोडिए । उनी राजनीतिमा आएको १६ बर्ष भइसकेको छ । ‘पहिले सिधै बाहिर देखिएको थिइनँ, पार्टीको सदस्यता लिइसकेको थिएँ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रीय भएको छु ।’
राजनीतिभित्र संगठित समस्या रहेको उनी बताउँछन् । अहिलेको अवस्थामा दुईवटा पार्टी एकीकृत भएर अगाडि बढिरहेका बेला काँग्रेसभित्रको गुटबन्दी पार्टीको प्रमुख समस्याका रुपमा रहेको उनले बताए । पार्टीका नेताले आफ्नै विधानलाई कार्यान्वयन नगर्नु पनि कांग्रेसभित्र समस्याको रुपमा रहेको उनको बुझाइ छ । ‘कांग्रेसमा वडा तहदेखि नै पार्टीलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ, पार्टीभित्र पदको लागि संघर्ष गर्ने तर पद पाइसकेपछि खटिएर काम गर्ने चलन छैन,’ उनले भने, ‘विधानअनुसार टोल, वडा, गाउँपालिका, क्षेत्र, जिल्ला, प्रदेशको वैठकको समय तोकिएको छ । मैले अहिलेसम्म कतै पनि वैठक बसेको देखेको छैन ।’

पार्टीको पदी जिम्मेवारी पाएका नेताहरुसँगको सञ्चार कमजोर हुनुले कांग्रेसलाई अझ कमजोर बनाउने गरेको उनले बताए । ‘सञ्चार जति टाढा हुन्छ त्यति नै सम्बन्ध टाढिन्छ, कांग्रेसभित्र पनि सञ्चार कमजोर भएकाले कार्यकर्ताहरु टाढिने अवस्था छ,’ उनले भने, ‘यो पार्टीभित्रको ठूलो समस्या हो ।’ अबको राजनीति जिल्लाभन्दा माथि रहेर गर्ने शाहको योजना छ । यसको अर्थ उनी अब प्रदेश वा केन्द्रीय स्तरको राजनीतिमा आउने सोचमा छन् ।

पार्टीभित्र आफ्नो दायित्व लिन नचाहने परम्पराले गर्दा पनि नेपाली कांग्रेस कमजोर भएको भन्दै उनले अहिले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताए । कांग्रेसको हालको अस्थालाई सुधार गर्न आफ्नो तर्फबाट लागेको उनले बताए । ‘कांग्रेसको प्रजातान्त्रिक धारणालाई बलियो बनाउन पनि पार्टी पनि बलियो हुन जरुरी छ, यसका लागि गुटगत राजनीतिबाट हामी पर हुनुपर्छ,’ शाह भन्छन्, ‘नेपाली कांग्रेस अधिवेशनका बेलामात्र सक्रिय हुन्छ, विधानमा हरेक बर्ष पार्टीको क्रियासिल सदस्ता दिने व्यवस्था छ । तर काँग्रेसले अधिवेशनका बेला मात्र यो काम गर्छ । यसले नकारात्मक प्रभाव पारेको छ ।’

पार्टीभित्रका भातृ संगठन पार्टीका महत्वपूर्ण अंग हुन् । शाह यी अंग सक्रिय नहुँदा पार्टी राम्ररी नचल्ने बताउँछन् । तर नेपाली कांग्रेसमा भातृ संगठनहरु राम्ररी चलेको अवस्था छैन । उनी भातृ संगठनका नेता कार्यकर्तालाई गुटबाट टाढा रहेर काम गर्न आग्रह गर्छन् । ‘गुटगत राजनीति गर्नुभयो भने तपार्इँको राजनीतिक भविष्य सकिन्छ, कित्ताकाटको राजनीति गरेरै केही भातृ संगठनहरुको चुनाव हुन सकेको छैन,’ उनी भातृ संगठनका नेता कार्यकर्तालाई सुझाव दिँदै भन्छन्, ‘यो कुरालाई पनि तपाईँहरुले बुझ्न जरुरी छ ।’ आफ्नो बारेमा आफैं समिक्षा गर्न पनि उनले भातृ संगठनका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।