शनिबार, बैशाख ८, २०८१

टिप्परको ठक्करबाट छिन्चुमा युवतिको मृत्यु, बजार तनावग्रस्त

  
कर्णाली टाइम्स शुक्रबार, पुस २४, २०७७


सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा एक युवतिको मृत्यु भएपछि छिन्चु बजार तनावग्रस्त बनेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ गईरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले सोही दिशातर्फ गईरहेको भे ७ प ५२०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट घाईते भएकी वीरेन्द्रनगर–११ की २३ बर्षीया ताराकुमारी आलेको मृत्यु भएको हो । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
उक्त घटनामा मोटरसाईकल चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ बर्षीय दुर्गा शाही घाईते छन् । उनको अवस्था सामान्य रहेको घर्तीले जानकारी दिए ।
घर्तीका अनुसार टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले मृतकका आफन्त र स्थानीयले छिन्चु बजारमा आन्दोलनको तयारी गरेका छन् ।