शनिबार, बैशाख ८, २०८१

श्री एअरलाईन्सको ८० सिट क्षमताको जहाजले गर्यो सुर्खेतमा परीक्षण उडान (भिडियोसहित)

  
कर्णाली टाइम्स सोमवार, माघ २६, २०७७


सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एअरलाईन्सले सुर्खेत विमानस्थमा परीक्षण उडान गरेको छ । सोमबार बिहान एअरलाईन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजद्वारा उडान परीक्षण गरिएको हो ।
बिहान १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए । सुर्खेतको आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ बजेर ४० मिनेटमा जहाज पुन: काठमाडौं फर्किएको उनले बताए ।
उनका अनुसार पाईलट डिएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको हो । अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्नेबारे एअरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने पन्थीले बताए । ‘आज त पाईलटहरु मात्र आउनुभएको हो, नियमित उडान गर्नका लागि कति लोड बोक्न सकिन्छ भन्नेबारे उहाँहरुले अध्ययन गर्नुहुन्छ,’ उनले भने ।
श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनले बताए । हाल सुर्खेत विमानस्थलको धावनमार्ग १ हजार २५० मिटर छ ।
सुर्खेत विमानस्थलमा हाल बुद्ध एअरले नियमित रुपमा काठमाडौं–सुर्खेत उडान गरिरहेको छ । बुद्ध एअरले ४७ सिट क्षमताको जहाजमार्फत सुर्खेत–काठमाडौं उडान गर्ने गरेको छ । हाल सुर्खेत–काठमाडौंं हवाई भाडा भने महँगो पर्ने गरेको छ । अहिले सुर्खेतदेखि काठमाडाैं ७ हजार ४५५ रुपैयाँ भाडादर कायम छ भने काठमाडौंदेखि सुर्खेतसम्मका लागि ७ हजार ५५५ रुपैयाँ रहेको छ ।  श्री एअरलाईन्सले नियमित उडान गरेमा भाडा घट्ने अपेक्षा गरिएको छ ।