शुक्रबार, बैशाख ७, २०८१

धुवाँ–धुलाले सास्ती दिएको भन्दै स्थानीयले बन्द गराए निर्माणाधीन सडक

  
कर्णाली टाइम्स बिहीबार, फागुन १३, २०७७


सुर्खेत । सडक निर्माण कार्य समयमै सम्पन्न नगरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा स्थानीयले सडक बन्द गराएका छन् । वीरेन्द्रनगरस्थित हटियालाईनमा रहेको सडक स्थानीय व्यवसायीले बन्द गराएका हुन् ।
काम सुरु भएको लामो समयसम्म पनि सम्पन्न नगरेको भन्दै सडक बन्द गराईएको हो । आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालयसम्मको बाटो लामो समयसम्म पनि कालोपत्रे नगर्दा धुलोले सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् ।
निर्माणाधीन सडकको समयमा काम सम्पन्न नगर्दा धुवा–धूलोको सास्तीसँगै गाडी गुड्दा गिट्टी उछिट्टिएर मानिसलाई लाग्ने गरेको व्यवसायी कुशुम रावलले बताए ।

कालोपत्रे नगर्ने बेलासम्म सडक बन्द गराउने व्यवसायी भुवन ज्ञवालीले बताए ।
वीरेन्द्रनगर नगरपालिकाले भने चैत मसान्तसम्म उक्त सडकको काम सम्पन्न गर्नेगरी सम्झौता भएको बताएको छ । उक्त सडक निर्माणको जिम्मा पिके कन्स्ट्रक्सनले लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । ‘स्थानीयले भोग्नुपरेको समस्या समाधान गर्न तत्काल पानी हालेर कुलो मार्ने काम गर्न निर्माण कम्पनीलाई लगाईने उनले बताए ।