शनिबार, कार्तिक १०, २०८१

सत्ताको खेलमा कांग्रेसले हतारिएर निर्णय नगर्ने : महामन्त्री खड्का

  
कर्णाली टाइम्स मंगलबार, फागुन २५, २०७७

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको फैसलापछि देशमा नयाँ राजनीतिक खेल सुरु भएको बताएका छन् । उक्त खेलमा कांग्रेसले हतारिएर निर्णय नगर्ने पनि उनको भनाइ छ । मंगलबार बिहान आफ्नो फेसबुक पेजमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘भर्खर त नयाँ खेल सुरु भएको छ, परिपक्वता र साहसिक निर्णयको कांग्रेसबाट देशले आश गरेको छ,’ उनले भनेका छन्, ‘अहिले पनि कांग्रेसको काँधमा धैर्यता, संयता र समयको मागअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको छ ।’ अहिले नै सरकार वा सरकार बाहिरको बहस गर्ने बेला नआएको उनले बताएका छन् । बिगत ३ महिनाको अनुभवले कांग्रेसलाई यही सिकाएको उनको भनाइ छ ।

नेकपाभित्रको विवादबाट सिर्जित समस्यामा कांग्रेसभित्र दुईखाले धारणा सार्वजनिक भएको थियो । ओली वा दाहाल–नेपाल समूहमध्ये कुन पक्षसँग मिल्ने भन्ने बहस सुरु भएको थियो । तर पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री खड्कालगायत नेताहरुले तत्काल नेकपाको स्पष्ट र ठोस विभाजनको आकार ननिस्किँदासम्म निर्णय लिन नहुने धारणा राखेका थिए । अहिले सर्वोच्चको फैसलापछि उक्त निर्णय परिपक्व सावित भएको छ । सन्तुलित, परिपक्व र दूरदर्शी विचार प्रवाह गर्ने महामन्त्री खड्काको पछिल्लो धारणाले कांग्रेसलाई सही मार्गमा डो¥याउने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।