बिहीबार, बैशाख ६, २०८१

सांसद रेग्मीको पद खारेज

  
कर्णाली टाइम्स सोमवार, चैत्र ३०, २०७७


सुर्खेत । नेकपा विवादकै क्रममा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीको सांसद पद खारेज भएको छ। कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको हो ।
चैत २० गते बसेको माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले उनलाई कारबाही गरेको र दल त्याग गरेको सूचना प्रदेशसभालाई गराएको थियो ।
सोही आधारमा सोमबार सचिवालयले पनि राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको ऐन, २०७४ को दफा ३५ (२) बमोजिम सदनलाई जानकारी गराएको हो ।
ऐनको दफा ३५ (१) मा संसदीय दलले कुनै सांसद्ले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनुपर्ने व्यवस्था छ।
दफा २ मा सभाको अधिवेशन चालू नरहेको अवस्थामा त्यस्तो सूचना सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस गर्नुपर्ने र अधिवेशन बसेपछि त्यस्तो व्यहोरा सम्बन्धित सदन वा सभालाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष सांसद निर्वाचित रेग्मीले नेकपा विवादको बीचमा एमाले प्रवेश गरेका थिए। नेकपा एकताअघि २०७४ को प्रदेश सभा निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रको प्रस्ताव र एमालेको समर्थनमा सांसदको उम्मेदवार बनेका थिए।