शुक्रबार, बैशाख ७, २०८१

सुर्खेतमा जारी निषेधाज्ञा लम्ब्याउने तयारी

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख ३१, २०७८


सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञाको समय थप गर्ने तयारी गरिएको छ । जिल्ला सुरक्षा समितिले आज दिउँसो वैठक बसेर निषेधाज्ञा कहिलेसम्म लम्ब्याउने भन्ने निर्णय गर्ने छ ।
अहिलेलाई जेठ १५ गतेसम्म निषेधाज्ञाको समय थप्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘यो पटकको निषेधाज्ञा जेठ १५ गतेसम्म थपिन्छ होला, हामी आज बसेर छलफल गर्दैछौं ।’ उनले भने ।
वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सुरुमा वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा गरिएको थियो ।
जोखिम कायमै रहेकाले पुनः वैशाख ३१ गतेसम्म थप गरिएको थियो । अहिले संक्रमणको दर बढ्दै गएको र जोखिम झन् बढेकाले निषेधाज्ञाको समय थप गर्न लागिएको प्रजिअ रिजालले बताए ।
जिल्ला सुरक्षा समितिले फलफुल, तरकारी, दुध पाउने पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म खोल्न दिईरहेको छ । खाद्यान्न पसलहरु भने हप्तामा तीन दिन (आइतबार, मंगलबार र बिहिवार) मात्र खोल्न दिईएको छ ।