बिहीबार, चैत्र १५, २०८०

कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य

  
कर्णाली टाइम्स आइतवार, असार २७, २०७८


सुर्खेत। कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ। केन्द्रदेखि तल्ला तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने यो सदस्य संख्या अघिल्लो महाधिवेशनको तुलनामा ५१ प्रतिशतले बढेको छ। कुनै समय प्रौढहरूको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक सदस्यता वितरणमा लचिलो बन्दा युवाको संख्या निकै बढेको छ।
कांग्रेसमा अघिल्लो १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए। तीमध्ये करिब ५० हजारले सदस्यता नवीकरण गरेका छैनन्। नयाँ सदस्यता लिनेको संख्या भने ४ लाख ४४ हजार २ सय ४३ छ। कांग्रेसको कुल सदस्य संख्यामा १६ देखि ४० वर्षसम्म उमेर समूहको प्रतिनिधित्व ३३ प्रतिशत छ। ४१ देखि ६० वर्ष उमेर समूहका सदस्यको संख्या सबैभन्दा बढी अर्थात् ३७ प्रतिशत छ। अहिले कांग्रेसमा ७५ वर्षका शेरबहादुर देउवाले नेतृत्व गरिरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ वर्ष पुगेका छन्। देउवा र पौडेलले नेतृत्व गर्ने ७५ वर्षमाथिको उमेर समूहका सदस्यको संख्या कांग्रेसमा जम्मा ११ हजार ७ सय ९९ छ। यो कुल क्रियाशील सदस्य संख्याको १ प्रतिशत मात्रै हो।
कांग्रेसमा अहिले तीन तहको पुस्ता छ। पहिलो तहका देउवा र पौडेल ७५ वर्षमाथिका पुगिसकेका छन्। दोस्रो तहका नेतामध्येमा सभापतिको आकांक्षी रहेका गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, शेखर कोइराला ७० वर्ष नाघिसकेका छन्। आकांक्षीमध्येकै दोस्रो पुस्ताका नेताहरूमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह ६२ वर्षमाथिका छन्। यो उमेर समूहको पार्टीका क्रियाशील सदस्यको संख्या पनि जम्मा ९ प्रतिशत छ। २०४८ सालदेखि निर्वाचन लड्दै आएका देउवा र पौडेलले आसन्न महाधिवेशनमा पनि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्। विश्लेषक पुरञ्जन आचार्यका अनुसार कांग्रेसमा युवा सदस्य बढेकाले पहिलो पुस्ताका नेताहरूका लागि फेरि नेतृत्वमा आउन चुनौती थपिएको छ।
कांग्रेसमा क्रियाशील सदस्यता अझै खुला छैन। स्वस्फूर्तभन्दा पनि केन्द्रदेखि तल्लो तहसम्मका नेतृत्वले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर सदस्यता दिने चलन छ। कसैलाई बनाउन र आफू हुनका लागि सदस्य बनाउने होड भए पनि करिब २५ प्रतिशत सदस्य पार्टीभित्र कुनै पनि गुटमा नलागेका हुन सक्ने सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेल बताउँछन्। ‘सदस्यता खुला गरिएको भए वा स्वस्फूर्त सदस्य पाउने अवस्था रहेको भए युवा पुस्ताले नेतृत्व लिन कुनै कठिनाइ हुन्थेन,’ उनले भने, ‘पार्टीभित्रका परम्परागत गुटका नेताहरूले आफूलाई अनुकूल हुने गरी सदस्यता दिने काम बढी भएकाले समस्या परेको हो। युवालाई नेतृत्वमा ल्याउन कुनै गुटमा नलागेका २५ प्रतिशत सदस्य निर्णायक हुन सक्छन्।’
विश्लेषक आचार्य सदस्यता वितरणमा पार्टीको संस्थापन पक्ष हावी हुँदाहुँदै पनि परिवर्तन आउने आशा राख्छन्। ‘जुनसुकै गुटमा भए पनि युवाको भावना परिवर्तनको पक्षमा हुन्छ। उनीहरूले रोज्ने भनेको शेरबहादुर पुस्ता नभएर गगन पुस्ता नै हो,’ उनले भने, ‘नेतृत्व पुस्तान्तरणका लागि सदस्यता सहायक हो। नेतृत्वमा आउन चाहने युवाले नयाँ हाँक र चुनौती सामना गर्न सक्ने दृष्टिकोणसहित पार्टी पंक्तिलाई कन्भिन्स गर्न सके पार्टी यथास्थितिबाट अघि बढ्न सक्छ। युवा नेतृत्वको पक्षमा वातावरण बन्छ।’
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका नेता गोविन्द पोखरेल नयाँ क्रियाशील सदस्यको संख्याले पार्टीको नेतृत्व गरिरहेको पहिलो पुस्तालाई ठूलो चुनौती खडा गरेको बताउँछन्। पार्टीको क्रियाशील सदस्यताको संरचनामा नेतृत्व तहकै सिन्डिकेट रहेको उल्लेख गर्दै उनले त्यसलाई तोडेर बाहिर निस्कन हम्मे परे पनि युवाको भावनाले नेतृत्व चयनमा परिवर्तन ल्याउन सक्ने बताए। ‘पहिलो र दोस्रो पुस्ताका नेताहरूको त्याग तपस्या छ, लगानी छ तर पुरानो नेतृत्वमा डेलिभरीको भोक छैन,’ उनले भने, ‘अहिले युवा पुस्तालाई डेलिभरी चाहिएको छ। त्यो चाहना पूरा गर्न सक्ने ऊर्जा युवा नेतृत्वमा हुन्छ।’
क्रियाशील सदस्यता कांग्रेस महाधिवेशनका सुरु मतदाता हुन्। उनीहरूले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्। तिनै क्षेत्रीय प्रतिनिधिले क्षेत्र, जिल्ला, प्रदेश कार्यसमिति चयन गर्नुका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चुन्छन्। तिनै प्रतिनिधिले केन्द्रीय पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने हुन्। नेतृत्व चयनमा क्रियाशील सदस्यले नै प्रभाव राख्ने नेता पौडेल बताउँछन्। ‘क्रियाशील सदस्यले परम्परागत गुटका आधारमा नभई युवा भावना र परिवर्तनको पक्षमा क्षेत्रीय प्रतिनिधि छनोट गर्न सके तलदखि माथिसम्म नै नेतृत्वमा परिवर्तन आउन सक्छ,’ उनले भने। नेता पौडेलका अनुसार विदेशस्थित जनसम्पर्क समितिको सदस्यसमेत जोड्दा पार्टीका क्रियाशील सदस्यताको संख्या ९ लाख नाघ्ने देखिन्छ। उनले परिवर्तनको भावना बोक्ने सदस्य बढी भए आफूहरूले चाहेको नेतृत्व पुस्तान्तरणको मुद्दालाई सहयोग पुग्ने बताए। ‘त्यसका लागि कांग्रेसमा क्रियाशील सदस्यतालाई खुला गरिनुपर्छ,’ उनले भने।
अर्का नेता धनराज गुरुङ कांग्रेसमा युवा सदस्य सबैले पार्टीमा रूपान्तरण खोजेको बताउँछन्। उनले नेतृत्व ओगटेर बसेका ‘पितातुल्य’ नेताहरूलाई कार्यकर्ताको चाहनाअनुसार १४ औं महाधिवेशनबाट अभिभावक बनिदिन आग्रह गरे। ‘गुटबाट वाक्क भएका कार्यकर्ताले स्थानीय तहदेखि नै यस पटक नेतृत्वसहित रूपान्तरण होस् भन्ने चाहना राखेका छन्,’ उनले भने, ‘त्यसका लागि परम्परागत गुटभन्दा बाहिरको शक्ति निर्णायक हुन्छ। त्यही निर्णायक शक्तिले नै कांग्रेसमा पुस्तान्तरण गराउँछ।’ कान्तिपुर