शनिबार, बैशाख ८, २०८१

उद्योग वाणिज्य संघ निर्वाचनको सन्देश र संकेत

कांग्रेसको संस्थापनइतर समूहले आगामी स्थानीय तह निर्वाचनमा जवरजस्त विद्रोहको दिशातर्फ जाने ‘ट्रेलर’ प्रस्तुत गरेको त हैन भन्ने शंका उब्जिएको छ

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ६, २०७९

निकै रस्साकस्सीपछि सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । व्यवसायीबीचको निर्वाचन भए पनि यसपटक पहिलेभन्दा अझ बढी राजनीतिक प्रभाव र हस्तक्षेप भयो । यसले गर्दा उक्त निर्वाचनले सुर्खेतको समग्र राजनीति, स्वयं उद्योग वाणिज्य संघको संस्थागत जीवनमा के कस्तो प्रभाव पर्ला भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । निर्वाचनको परिणामलाई लिएर विभिन्न तबरले टिकाटिप्पणी पनि भइरहेका छन् । यद्यपि यस निर्वाचनले वस्तुगत रुपमा केही सन्देश र संकेत भने दिएको छ ।

सबैभन्दा पहिले चुनावी प्रतिस्पर्धालाई हेरौं । निर्वाचनमा परिस्थितिवश राजनीतिक दलहरु देखिने गरी सहभागी भए । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राप्रपाले हर्षविक्रम खड्काले नेतृत्व गरेको प्यानललाई समर्थन गरे । अर्कोतर्फ कांग्रेसको संस्थापनइतर समूह र एमालेको समर्थन लक्ष्मण कँडेल नेतृत्वको प्यानललाई रह्यो । दुबै तर्फका दलका नेताहरु चुनावी मैदानमा खुलेआम उत्रिए । बाजी भने कँडेलले मारे ।

कँडेलको पक्षमा परिणाम आउनुमा केही निश्चित कारण छन् । वास्तवमा राजनीतिक दलहरु प्रतिस्पर्धामा उत्रिए पनि मतदाताको धरातल भने राजनीतिक थिएन । उद्योग वाणिज्य संघ यस्तो संस्था हो, जसमा व्यापारिक फर्मपिच्छे एक मत हुने गर्छ । अहिलेमात्र होइन, विगतदेखि नै अध्यक्षका उम्मेदवारले लाखौं खर्च गरेर पकेटका फर्म दर्ता गरेर तिनलाई सदस्यता दिन्छन् । एउटै व्यक्तिले १५–२० भोटसम्म होल्ड गर्ने गरेका छन् । त्यसैले कँडेलले बनाएका सदस्य हुन् वा खड्काले बनाएका सदस्य हुन्, अधिकांश उनीहरुका पकेटका भोट थिए । जसले बढी भोटर बनायो, उसको प्रभाव प्रतिस्पर्धामा अनुकूल देखियो । अन्तिम अवस्थामा राजनीतिक प्रतिस्पर्धा भए पनि त्यसले आमरुपमा चुनावी परिणामलाई प्रभाव पार्न सकेन । त्यसैले लामो र व्यवस्थित तयारीले कँडेललाई विजयी बनाउन सघायो । कँडेललाई विजयी बनाउन अन्य थुप्रै तत्वले सघाए पनि जितको मूल आधार उनको व्यवस्थित तयारी नै हो ।

बजारमा जबरजस्त लादिएको अर्को व्याख्या छ– यसले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनको हैसियतलाई संकेत गरेको छ । गठबन्धन दलहरुले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउन कसरत नगरेका होइनन् । तर यो परिणामले गठनबन्धनको शक्तिलाई मापन भने गर्दैन । सुर्खेतमा करिब १५ हजार व्यापारी–व्यवसायी रहेका छन् । तीमध्ये यसपटक करिब २ हजार मतदाता सहभागी थिए । ती पनि व्यापारिक फर्मको आधारमा हुन् । व्यक्तिको संख्याको आधारलाई मान्दा निर्वाचनमा बढीमा ८ सय देखि १ हजार व्यक्ति सहभागी थिए । मतदातामध्ये करिब ७५ प्रतिशत कांग्रेसनिकट थिए । सुर्खेत उद्योग वाणिज्य संघमा परम्परागत रुपमा कांग्रेसको होल्ड भएकोले त्यहाँको जनमतले आमनिर्वाचनलाई प्रतिनिधित्व गर्दैन । त्यसो त यही निर्वाचनमा संघमा एमालेको प्रतिनिधित्व निकै न्यून रह्यो । एकजना पदाधिकारी पनि निर्वाचित भएनन् । सुर्खेतमा कांगे्रेसको हाराहारीमा जनमत रहेको एमालेको सुर्खेत उद्योग वाणिज्य संघमा भने मुस्किलले १० प्रतिशत सदस्यतामा होल्ड छ । त्यसर्थ संघको निर्वाचनको आधारमा आगामी कुनै पनि निर्वाचन परिणामलाई आँकलन गर्नु अपरिपक्व हुन्छ ।

निर्वाचनले केही सन्देश भने छोडेको छ । पहिलो सन्देश हो– व्यवसायीहरु राजनीतिक बन्धनमा बाँधिन चाहँदैनन् । ६ दलीय गठबन्धन भए पनि दलनिकट व्यवसायी भने एक–अर्को प्यानलबाट निर्वाचन लडेका थिए । एकीकृत समाजवादीले आफूनिकट कृष्णप्रसाद सुवेदीलाई एमाले सम्मिलित प्यानलमा जानबाट रोक्न सकेन । कांग्रेसले समेत बृहत गठबन्धन गरेर आधिकारिक रुपमा खड्कालाई समर्थन गर्दासमेत कांग्रेसनिकट व्यवसायी कँडेलको नेतृत्वमा टिमै तयार भयो । चुनावी परिणाम पनि राजनीतिक प्रभावभन्दा व्यावसायिक प्रभाव, बस्तुगत समितिहरुको प्रभाव र पारिवारिक सम्बन्धको प्रभावबाट प्रेरित देखिन्छ । त्यसैले व्यापारी व्यवसायीको निर्वाचनमा राजनीतिक हस्तक्षेपले काम गर्दैन भन्ने सन्देश दिएको छ ।

संघको निर्वाचनले कांग्रेसभित्र भने थुप्रै सन्देश र संकेत उजागर गरेको छ । पार्टीले खड्कालाई समर्थन गर्दासमेत संस्थापनइतर समूह खुलेआम कँडेलको पक्षमा लाग्नुले उक्त समूह आगामी स्थानीय तह निर्वाचनमा पनि जवरजस्त विद्रोहको दिशातर्फ जाने त होइन भन्ने शंका उत्पन्न भएको छ । ३ वर्षअघिको संघको निर्वाचनमा संस्थापनमा रहेको उक्त समूहले धनबहादुर रावतलाई अघि सार्दा तत्कालीन अवस्थामा संस्थापनइतर रहेको हालको संस्थापन पक्ष मौन बसेको थियो । त्यही कारण रावतले जितेका थिए । तर अहिले पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धाबाट कमजोर बनेको इतर समूह आफूले भनेजस्तो नभए पार्टीको निर्देशन नमान्ने गरी अघि बढेको छ । उद्योग वाणिज्य संघको निर्वाचनमा उसले यसको ‘ट्रेलर’ प्रस्तुत गरेको राजनीतिक बजारमा टिप्पणी हुन थालेको छ । यसको लागि उक्त समूहले संघको निर्वाचनलाई आफ्नो थचारिएको शक्तिलाई केही हदसम्म उठाउने माध्यम पनि बनाएको छ । केही उद्योगी व्यवसायीलाई उसले आफ्नो समूहमा गोलबन्द गरेको छ । यसलाई उसले आगामी निर्वाचनमा प्रयोग गर्न सक्नेछ । संघको चुनावी प्रतिस्पर्धाले कांग्रेसमा पारेको प्रभावका साथै दिएका संकेत र सन्देश विस्तारै बाहिर आउने छन् ।