शनिबार, बैशाख ८, २०८१

बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी, उद्दार उडानसमेत नचल्ने

  
कर्णाली टाइम्स मंगलबार, असार ७, २०७९

सुर्खेत। वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभर हवाई उान बन्द गर्ने घोषणा गरेको छ। मंगलबार पत्रका सम्मेलन गर्दै संघले आफू मातहातका जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको जानकारी गराएको छ।
नेपाल सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरुले राती काठमाडौंभन्दा बाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेपछि तयसको विरोधमा वायु सेवा सञ्चालक संघले हवाई उडान बन्द गरेको घोषणा गरेको हो।
‘बाध्यात्मक रुपमा यस संघसँग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपतकालीन उद्दारलगायत नियमित उडानहरु मिति २०७९ असार ८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसक्ने भएकाले सरकारले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्न भनेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता भएपनि अहिले ३४ वटा जहाज पार्किङ भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो।
प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि लिनु पर्ने भएको छ।
प्राधिकरणका अनुसार हेलिकप्टरको हकमा मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो बाहिर पार्किङ गर्नुर्पे नियम लागु हुनेछ।