शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री कपः एपीएफ सेमीफाईनलमा

कर्णालीका रविन्द्रजंग शाहीले बनाए ८० रन

  
कर्णाली टाइम्स शनिबार, कार्तिक १९, २०७९


सुर्खेत। कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमा कर्णालीलाई ४४ रनले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो।
पीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रनमा समेटियो।
कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ८० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्। यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए।
एपीएफका मौसम ढकालले ४ विकेट लिए। कमल ऐरी र भुवन कार्कीले २–२ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो।
एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले। १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए। लोकेश बम र दीपक बोहराले १०–१० रन बनाए।
कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३–३ विकेट लिए। दिवन पुनले २ विकेट हात पारे।
यो जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो। एपीएफ शीर्ष स्थानमा रहेको छ। कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ।
प्रतियोगिता अन्तर्गत शनिबार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले हरायो।
मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो।
लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेलेका थिए। यस्तै अभिषेक गौतम २ रनमा अविजित रहे।
लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३–३ विकेट लिए। यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। ओपनर सन्तोस कार्की र हरिशंकर साहले अर्धसतकीय पारी खेले।
सन्तोषले ५० रन बनाउँदा हरिशंकरले ७६ रनको व्यक्तिगत स्कोर बनाएका थिए। यस्तै अनिल साहले पनि अर्धसतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नुबाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेनन्।
मधेसको सबै विकेट निकाल्ने क्रममा कृृृष्ण काकीले सर्वाधिक ३ विकेट हात पारे। अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक–एक विकेट रह्यो।
प्रतियोगितामा आईतबार पनि दुई खेल हुनेछन्। मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लव तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।