बुधबार, असोज १०, २०८०

हामीलाई हाम्रो माटो मलिलो लाग्छ, परम्परा प्रिय लाग्छः ज्ञानेन्द्र शाह

‘यो समयमा शासन गर्नेहरुले काम थोरै, कुरा धेरै गरेका छन्’

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १३, २०८०


सुर्खेत। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुर्खेतमा नागरिक अभिनन्दन गरिएको छ। नागरिक अभिनन्दन मुल समारोह समितिको अयोजनामो पूर्वराजा शाह परिवारलाई वीरेन्द्रनगरमा अभिनन्दन गरिएको हो। समारोहमा पूर्वराजासँगै, महारानी कोमल शाह, युवराज्ञी हिमानी शाह लगायतको टोलीलाई स्थानीयले अभिनन्दन गरेका थिए।
अभिनन्दन समारोहमा पूर्वराजा शाहले २०३० को दशकमा सुरु भएका विकासका सपनालाई कर्णालीका विकट जिल्लाहरुमा फैलाउन आवश्यक रहेको बताएका छन्। उनले विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोणबाट सन्तुलित विकासको अवधारणा राजा वीरेन्द्रको पालामा सुरु भएको बताए।
‘५० बर्षअघि नेपालको विकास प्रक्रियामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो, पाँच वटा जिल्लालाई केन्द्रविन्दू बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिएको थियो,’ पूर्वराजा शाहले भने, ‘कर्णाली राजमार्ग, रत्न राजमार्ग, काँक्रेबिहार, बुलबुले ताल, गोठीकाँडा, लाटीकोईली, बयलपाटा, सिद्धपाईला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणा बमोजिम नै अघि बढाईएको हो।’
उनले क्षेत्रीय भ्रमण गरी सञ्चालित विकास कार्यको अनुगमन, निरीक्षण र सुधार गर्दै जाने काम पनि राजतन्त्रबाटै सुरु भएको बताए। देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएकाले यसमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको उनले बताए।
‘लोकतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदि जे–जे शब्द भनेपनि मुल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो,’ उनले भने, ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो।’
पूर्वराजा शाहले यो समयमा शासन गर्नेहरुले कामभन्दा कुरा धेरै गर्ने गरेको टिप्पणी गरे। नेपाल र नेपालीको हित चाहनेहरुले अहिलेको अवस्थालाई गहिरिएर सोचिरहेको उनले बताए।
उनले अहिलेको अवस्थामा जनताले राजतन्त्र चाहेको पनि संकेत गरे। ‘जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ, टिकाउको हुँदैन,’ उनले भने, ‘हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ, अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ।’
उनले अब कसरी जाने, के कस्तो विधी व्यवस्था अंगाल्ने र देशको गौरव गरिमालाई पुनः ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्ने बेला आएको पनि बताए। शाहले देशमा सबै एकजुट भएर राष्ट्रका निम्ति सँगसँगै अघि बढ्नुपर्ने सन्देश पनि दिएका छन्।
सुर्खेतमा सम्बोधनपछि पूर्वराजा शाहले देउतीबज्यै मन्दिर दर्शन गरेका थिए। शनिबार नै नेपालगञ्ज फर्किएका उनी भोलि काठमाडौं जाने तालिका छ।