शुक्रबार, मंसिर १४, २०८१

कर्णाली नदीमाथिको झोलुङ्गे पुलको जाली फुत्किँदा १३ खच्चर फसे, उद्धारको प्रयास जारी

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २७, २०८१


सुर्खेत। दैलेखमा १३ वटा खच्चर झोलुङ्गे पुलमा फसेका छन्। दैलेखको आठविस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घण्टादेखि फसेका छन्।
आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठविसको राकम बजार आईरहेका खच्चर झोलुङ्गे पुलमा फसेका हुन्। पुलको तल्लो छेउका जालीबाट ती सबै खच्चरका खुट्टा छिरेका छन्।
आठविस–४ का वडाध्यक्ष टेकबहादुर माझीका अनुसार पुलमा फसेका खच्चरको उद्दारका लागि समन्वय गरिएको छ।
घटना स्थलमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। फसेका खच्चरको उद्दार गर्न सुरक्षाकर्मीले मात्र सम्भव नभएकाले पुल बनाउने मिस्त्रीसँग समन्वय गर्न थालिएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।
‘उद्दार गर्न गएका मानिसलाई नै जोखिम हुनेगरि पुल झुेकेको छ, त्यसैले सुरक्षाकर्मीले मात्र सम्भव भएन,’ डिएसपी दाहालले भने, ‘पुल बनाउने मिस्त्रीसँग केही उपाय हुनसक्छ भनेर हामीले उहाँहरुलाई बोलाएका छौं, उहाँहरुले डोरी काटेर वा कुनै उद्दारको उपाय दिन सक्नुहुन्छ।’
स्थानीय दीलबहादुर थापाका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको उनले बताए। समयमै उद्दार गर्न नसके खच्चरहरु कर्णाली नदीमा खस्ने सम्भावना रहेको उनले बताए।
उद्दारका लागि भनेर दैले र अछामबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेका छन्।