शनिबार, कार्तिक १०, २०८१

राष्ट्रिय गीत लेखन प्रतियोगितामा कर्णालीबाट क्षितिज समर्पण बने उत्कृष्ट

  
कर्णाली टाइम्स सोमवार, असार १८, २०८१


सुर्खेत। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही (क्षितिज समर्पण) कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गरेको छ।
आइतबार सांस्कृतिक संस्थान, जमलमा आयोजित विशेष समारोहमा उत्कृष्ट भएका लेखकहरुलाई पुरस्कृत गरेको छ।
प्रतिष्ठानले गत जेठ १५ गते सूचना जारी गरेर राष्ट्र, राष्ट्रियता र गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुर्याउने राष्ट्रिय भावको गीत लेखनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो। सोही बमोजिम देशभरबाट करिब दुई सय जना स्रष्टाहरुले शब्द रचना पठाएका थिए।
कर्णालीबाट १५ जना स्रष्टाले गीत रचना गरेर पठाएका थिए।
प्राप्त रचनामध्येबाट निर्णायक मण्डलले हरेक प्रदेशबाट एक/एक वटा उत्कृष्ट गीत छनोट गरेको हो। यी सबै गीतलाई रेकर्ड गरिने प्रतिष्ठानले जनाएको छ। सर्वोत्कृष्ट तीन वटा गीतको म्युजिक भिडियो समेत निर्माण गरिने प्रतिष्ठानले जनाएको छ।
स्रष्टाहरुलाई प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भु राई लगायतले जनही १५ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए।
कथा, कविता, गीत, गजल लेखनमा सक्रिय क्षितिजले यसअघि लेखेको शब्द कर्णाली प्रदेशको खेल गीतका रुपमा उत्कृष्ट शब्द रचनाकारुरूपमा छनोट भएको थियो। उनका शब्दमा रहेका केही लोक र आधुनिक गीत रेकर्ड भइसकेका छन्।
उनी यसअघि २०७५ सालमा भएको एक राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएका थिए।