शुक्रबार, बैशाख २१, २०८१

पत्रकारलाई गरिएको दुरव्यवहारप्रति महासंघको आपत्ति

  
कर्णाली टाइम्स बिहीबार, साउन २९, २०७७

सुर्खेत । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेलले पत्रकार माथि गरेको दुरव्यवहारप्रति नेपाल पत्रकार महासंघको केन्द्र, कर्णाली प्रदेश र सुर्खेत शाखाले आपत्ति जनाएका छन् ।

बिहिबार दिउँसो समाचार संकलन (बाइट) का लागि मन्त्रालयमा पुगेका कान्तिपुर टेलिभिजनका लागि सुर्खेतमा कार्यरत पत्रकारद्वय पूर्णबहादुर खड्का र नविनजंग शाहीलाई तीन दिन अघि (साउन २६ गते) पदभार सम्हालेका सचिव पौडेलले धम्क्याउने मनसायले हतोत्साहित गराउने उद्देश्य राखेर दुरव्यवहार गरेका हुन् ।

महासंघको विज्ञप्तीमा भनिएको छ‘पत्रकारद्वय बिहिवार (२९ गते) समाचार संकलनको क्रममा (बाइट) को लागि बारम्बार फोन गर्दा पनि रिसिभ नगरेको र कार्यालयको गेटमै गएर सम्पर्क गदासमेत तिम्रो मालिकलाई त मैले भेट्दैन, तिमीलाई कहाँ भेटछु’ भन्दै दुरव्यवहारयुक्त शब्द प्रयोग गरेका थिए । समाचार संकलनको लागि खटिएका पत्रकारलाई सहज रुपमा सूचना दिनुको साटो वा दिने वातावरण मिलाउनुको साटो हतोत्साहित हुने गरी भएको व्यवहारले स्वतन्त्रपूर्वक समाचार संकलन गर्ने कार्यमा हस्तक्षेप भएको छ ।’

महासंघले आगमी दिनमा यस्ता व्यवहार नगर्न समेत विज्ञप्ती मार्फत सचेत गराएको छ । पटक पटक फोन सम्पर्क गर्दा समेत उनले नउठाएपछि पत्रकारहरुमन्त्रालयमा पुगेका थिए ।

कोरोना भाइरसको त्रासकै कारणले नभेट्ने मनसाय भएपनि भौतिक दुरी कायम गरेर अर्थात कार्यकक्ष भन्दा बाहिरै भेट्न सकिने र प्रविधिको प्रयोग गर्ने अवस्था हुदाँ हुदैँ पनि सचिव पौडेलले पत्रकारमाथि यस्तो दुरव्यवहार गरेका थिए ।