शनिबार, बैशाख १५, २०८१

निषेधाज्ञामा पनि रोकिएन जोखिम !

  
जगतदल जनाला विक बिहीबार, भदौ ११, २०७७
फाइल तस्बिर ।

सुर्खेत । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेकाले कर्णालीका विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
कर्णालीमा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि -८  जिल्लामा निषेधाज्ञा गरिएको छ ।

स्वास्थ्य विज्ञहरुले भने कोरोनाको जोखिमबाट बच्न निषेधाज्ञा नै आवश्यक नभएकोले यसको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन् ।
कर्णालीका १० जिल्ला मध्ये सल्यान र हुम्ला बाहेक अन्य सुर्खेत, डोल्पा, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा छ भने सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, आठविसकोट, सानीभेरी र जाजरकोटको भेरी नगरपालिकामा निषेधाज्ञा लागू भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार साउन ३२ देखि जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । यस्तैै मुगु र जाजरकोटमा भदौ १५ गतेसम्म, दैलेख र कालिकोटमा भदौ १२ गतेसम्म, सुर्खेतको वीरेन्द्रनगरमा १२ गतेसम्म, डोल्पामा भदौ १० गतेदेखि १६ गतेसम्म र रुकुम पश्चिमका तीन स्थानीय तहमा भदौ १४ गतेसम्म निषेधाज्ञा छ ।

संक्रमण रोकथामको अन्तिम विकल्प निषेधाज्ञा नभएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए ।
‘निषेधाज्ञाले केहि मात्रामा भएपनि मानिसको क्रियाकलाप रोकिने हो, तर आम नागरिकले मास्क लगाउनुपर्छ, साबुन पानीले हात धुनुपर्छ, भीडभाड गर्नुहुन्न, सेनिटाइजरको प्रयोग गर्नुपर्छ भन्ने कुराहरु व्यवहारमा लागु गरे निषेधाज्ञा गर्नुपर्दैन,’ प्रमुख वाग्लेले भने, ‘सबैभन्दा पहिलो कुरा नागरिक आफै सचेत हुने यदि नभए प्रशासनले पनि त्यसमा अनुगमनलाई प्रभावकारी बनाउने ।’

कर्णाली प्रदेशका ७९ मध्ये ६६ स्थानयि तहमा कोरोना संक्रमित भेटिएका छन् । जिल्लागत संक्रमितको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी दैलेखमा एक हजार ७ जना, सुर्खेतमा ६२२, सल्यानमा २६३, जुम्लामा ११६, कालिकोटका ८६, रुकुम पुर्वमा ५७, जाजरकोटमा ४८, मुगुमा १०, हुम्ला र डोल्पामा ५–५ जनालाई कोरोना पुष्टि भएको थियो ।
बुधबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३१९ र निको हुनेको संख्या २ हजार १९ छ । ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । हालसम्म २९४ जना कोरोनाका सक्रिय बिरामी छन् । कुल संक्रमित मध्ये १०० जना अन्य प्रदेशका तर कर्णालीमा पुष्टि भएका हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा मात्र अन्तिम बिकल्प नभएपनि मानिसहरुको जमघट र भीडभाडबाट हुने जोखिममा कमी आएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी बताउँछन् । भीडभाड नभएकै कारण सुर्खेतमा थप संक्रमितको संख्या पनि न्यून रहेको उनको दावी छ ।
‘कोरोना न्यूनिकरणका लागि निषेधाज्ञा नै अन्तिम बिकल्प नभएपनि भीडभाडलाई नियन्त्रण गर्न सहज बनाउँछ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘हामीले सम्भावित क्षेत्रमा निषेधाज्ञा गर्दा संक्रमितको संख्यामा पनि कमी आएको छ ।’
कोरोना संक्रमण फैलिने कुनै पनि गतिवधि नगर्न नगराउन ‘सम्बन्धित स्थानीय तह र वडालाई नै निर्देशन गरेकोले कसैले त्यस्ता गविविधि गरेको पाइए कानुनी कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

निषेधाज्ञा गरिएका ठाउँमा स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न दिइएको छ ।

कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा बन्द

 कर्णाली प्रदेश अस्पताल सुर्खेतको ओपीडी सेवा बन्द भएको छ ।
मंलबार र बुधबार गरी प्रदेश अस्पतालमा कार्यरत ७ जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि बन्द गरिएको हो ।

प्रदेश अस्पतालमा कार्यरत दुई जना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र अस्पतालका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बढीमा एक हप्तासम्मका लागि ओपीडी सेवा बन्द गरेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए ।

‘अस्पतालमा कार्यरत ७ जना चिकित्सकमा कोरोना देखिएपछि अस्पपतालको ओपीडी सेवा बन्द गरेका छौं,’ डाक्टर खड्काले भने, ‘बढीमा एक हप्तासम्म सेवा बन्द गरिने छ ।’