शुक्रबार, जेष्ठ ४, २०८१

प्रविधि र जनशक्तिको अभावले वैकल्पिक शिक्षण सिकाईमा चुनौती

  
कर्णाली टाइम्स बिहीबार, साउन १४, २०७८


सुर्खेत । कोभिड–१९ को महामारीका बेला शिक्षण सिकाईमा परेको असरलाई कम गर्न वैकल्पिक शिक्षाको अवधारणा ल्याईएको भएपनि दुर्गम क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सञ्चारको आधुनिक प्रविधि, विद्यालयमा जनशक्तिको अभाव, परिवारमा शिक्षित व्यक्तिको अभाव जस्ता कारणले वैकल्पिक शिक्षण सिकाई दुर्गममा प्रभावकारी बन्न नसकेको हो ।
बिहिवार जाजरकोटको कुशे गाउँपालिकामा आयोजित शिक्षा संवाद् कार्यक्रममा सहभागी वक्ताहरुले दुर्गम क्षेत्रमा वैकल्पिक शिक्षण प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको शिक्षा संवादमा वक्ताका रुपमा रहेका कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सञ्चारको पहुँच नहुँदा वैकल्पिक विधिबाट सिकाई कार्य प्रभावकारी बन्न नसकेको बताए ।
‘कोभिडका बेला हाम्रो पालिकामा पनि विद्यालयको पठनपाठन प्रभावित भयो, अहिले पनि विद्यालयहरु सञ्चालन हुन सकेका छैनन्,’ अध्यक्ष बस्नेतले भने, ‘हामीले वैकल्पिक रुपमा शिक्षाका लागि गरिएका कतिपय प्रयासहरु सञ्चारको अभावमा सफल हुन सकेनन्, दुर्गम क्षेत्रमा सञ्चारको अभावले वैकल्पिक शिक्षामा चुनौती आउने गरेको छ ।’
उनले आफ्नो स्थानीय तहमा शिक्षा नीति बनाएर वैकल्पिक शिक्षाको विषय समावेश गरेको बताए ।
घरमै विद्यार्थीलाई शिक्षण सिकाई गर्न गृह विद्यालय सञ्चालनका लागि गाउँपालिकाबाट २५ बुँदे परिपत्र गरिएको बताउँदै उनले वैकल्पिक शिक्षणका लागि अभिभावक तथा शिक्षकहरुलाई अभिमुखीकरण, विद्यालयमा दरबन्दी थप गर्ने जस्ता कार्य गरिएको बताए ।
संवादमा सहभागी अर्का वक्ता कुशे गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनक बहादुर शाहले गाउँपालिकाभित्रका ४०० घरधुरीमा शिक्षक राखेर वैकल्पिक शिक्षण सिकाई सञ्चालन गरिएको बताए ।
घरमै पुगेर बालवालिकालाई पढाउन बालविकास कक्षाका शिक्षकहरुलाई अभिमुखीकरण, स्वःअध्ययन सामग्री निर्माण जस्ता कार्य वैकल्पिक शिक्षण सिकाईका लागि गरिएको उनले बताए ।
शाहले एफएम रेडियोहरुबाट पनि शिक्षण सिकाई गर्ने गरिएको बताउँदै गाउँपालिकाले आफ्नै रेडियो स्थापना गरेर त्यसबाट वैकल्पिक शिक्षा दिने योजना बनाएको बताए । उनका अनुसार गाउँपालिकाका वडा नम्बर १, ७, ८ र ९ नम्बर वडामा टोल शिक्षक परिचालन गरिएको छ ।
शिक्षा संवादमा कुशे गाउँपालिका–९ का वडा अध्यक्ष देविका सिंह र शिक्षक महासंघ कुशे गाउँपालिकाका अध्यक्ष सशिराम जैसी पनि वक्ताका रुपमा रहेका थिए ।
कार्यक्रममा सहभागीहरुले स्थानीय तहले वैकल्पिक शिक्षाका लागि गर्न सकिने क्रियाकलापहरुको बारेमा सुझावसहित आफ्ना जिज्ञासा राखेका थिए ।