बुधबार, बैशाख १९, २०८१

कर्णालीका चार मन्त्रीले लिए शपथ

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ७, २०८०


सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहिबार काँग्रेसबाट सहभागी भएका तीन जना र राज्यमन्त्रीबाट मन्त्री बनेका एक जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
फेरिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेश सरकारमा सहभागी भएको नेपाली काँग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीका लागि सिफािरस गरेको थियो। काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेल नियुक्त भएका थिए।
उनीहरुलाई बुधबारकै मितिमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्त गरेका थिए। काँग्रेसभित्र केही सांसदले असन्तुष्टी जनाएपछि बुधबार नै हुने भनिएको शपथ रोकिएको थियो।
यस्तै यसअघि भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले बिहिबार मन्त्रीको रुपमा शपथ लिएकी छन्। मंगलबारको मन्त्रिपरिषदको निर्णयअनुसार भौतिक, पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाईएछि विश्वकर्मालाई उक्त मन्त्रालयको जिम्मेवारी दिईएको हो।
अहिले काँग्रेसले लिएका तीन वटा मन्त्रालय यसअघि एमालेले लिएको थियो। समीकरण बदलिएपछि २०७९ चैत २६ गते एमालेका मन्त्रीहरुले राजीनामा दिएका थिए। अब कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ। यसपछि मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ।
माओवादी नेतृत्वको मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित माओवादीका पाँच र काँग्रेसका तीन जना मन्त्री सहभागी छन्।