शुक्रबार, बैशाख २१, २०८१

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख १५, २०८०


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन्। शुक्रबार बसेको संसद वैठकबाट मुख्यमन्त्री शर्माले विश्वासमो मत लिएका हुन्।
उनलाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्। आफ्नो दल नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १४, नेकपा (एस) का १ र स्वतन्त्र एक जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।
२०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई सभामुखबाहेक नेकपा एमालेका ९, माओवादीका १३, राप्रपाका १, नेकपा (एस) का १ जना र स्वतन्त्र १ जना सांसद गरि २५ जनाले विश्वासको मत दिएका थिए।
तत्कालिन समयमा सत्तामा रहेको नेकपा एमालेले चैत २७ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपरेको हो।
सुरुमा सरकारलाई समर्थन गरेको राप्रपाले पनि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला राप्रपाका एक जना सांसद र सभामुखबाहेक प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका ३८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए।