शनिबार, कार्तिक १०, २०८१

सुर्खेत उद्योग वाणिज्य संघले लियो भोली पसल खोल्ने निर्णय फिर्ता

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २०, २०७७

जगतदल जनाला विक
सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले आफुले गरेको निर्णय फिर्ता लिएको छ ।
बुधबार देखि सबै पसल सञ्चालन गर्ने निर्णयबाट सुर्खेत उद्योग वाणिज्य संघ पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि तत्काल पसल नखोल्ने सहमति भएको हो ।
मङ्गलवार एक विज्ञप्त जारी गर्दै संघले भोलि जेठ २१ गतेदेखि सम्पूर्ण पसलहरु सञ्चालन गर्ने घोषणा गरेको थियो ।
संघको उक्त विज्ञप्ती आए लगत्तै प्रशासनले संघका पदाधिकारीहरुसँग छलफल गरी तत्काल पसल सञ्चालन नगर्ने सहमति जुटाएको हो ।
लकडाउनले व्यवसायीहरुमा परेको प्रभाव र यसलाई सहज बनाउनका लागि आगामी दिनमा थप छलफल गर्ने र हाललाई पूर्ववत् रुपमै तोकिएको वस्तुहरुको मात्र पसल सञ्चालन गर्ने सहमति भएको प्रशासनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लकडाउनले व्यवसायीहरु समस्यामा परेको र सरकारले पनि राहत प्याकेज नल्याएको भन्दै संघले मंगलवार विज्ञप्तिमार्फत शनिवार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न संघले सबै व्यवसायीहरुलाई आग्रह गरेको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताए ।
तर उक्त घोषणा भएको केहि घण्टा नबित्दै संघ आफ्नो निर्णयबाट पछि हटेको हो ।
कोरोना प्रकोपको कारण संघीय सरकारले देशभर लकडाउन लगाइए पनि सुर्खेत उद्योग वाणिज्यले आफुहरुको व्यापार क्षेत्रलाई घाटा भकोएले लकडाउन नमान्ने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो । अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जेठ २१ गतेदेखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सुरक्षा सावधानी अपनाउँदै सम्पूर्ण पसलहरु खोल्ने उल्लेख गरेको थियो । फलफूल, तरकारी, डेरी, ग्याँस पसलहरु भने बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
उद्योग वाण्ज्यि महासंघका अध्यक्ष रावतले व्यवसायीक क्षेत्रको हकहितका लागि केहि बोले पनि जिल्ला प्रशासन कार्यालयसँगको छलफल पछि उक्त निर्णयबाट पछि हटेको बताए । अध्यक्षय रावतले सरकार सँग निजी क्षेत्र सहकार्य गर्न सदैव तयार रहेको बताए ।

यो पनि पढ्नुहोस् :

नयाँ सिडियोलाई गृहजिल्लामै व्यापारीबाट चुनौतीपूर्ण स्वागत !